Logo

ए डिभिजन : आर्मी, मछिन्द्र र मनाङबीच उपाधी होड



माघ १२, काठमाण्डौ । ’ए’ डिभिजन लिगमा आठौं चरणका खेल शनिबारबाट सकिएको छ । आठौं चरणको खेल सकिदा लिगमा ५६ खेल सकिएको छ । अहिलेसम्मको खेलबाट १७ अंक जोडेको नेपाल आर्मी अंकतालिकाको शीर्षस्थानमा रहेको छ । उपाधी होडमा आर्मी, मछिन्द्र र मनाङबीच प्रतिस्पर्धा देखिएको छ । अब प्रत्येक टिमले ५ खेल मात्रै खेल्न बाँकी रहेको छ ।

आठौं चरणको समाप्तिमा आर्मीले १७ अंक जोडेर शीर्षता कायम राखेको छ । लिगको हेबी वेट टिम मछिन्द्र १६ अंकसहित दोस्रो र समान अंक जोडेको साविक विजेता मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा रहेका छन् । १४ अंकसहित थ्री स्टार चौथो स्थानमा रहेको छ । १२ अंक रहेको एनआरटी, जावलाखेल युथ क्लब र संकटा क्लब क्रमशः पाचौं, छैटौं र सातौं स्थानमा रहेका छन् ।

त्यस्तै ११ अंकसहित नेपाल पुलिस क्लब आठौं स्थानमा रहेको छ । ९ अंक जोडेको च्यासल युथ क्लब नवौं स्थानमा छ भने ८ अंक जोडेको ब्रिगेड ब्वाईज र फ्रेन्ड्स क्लब क्रमशः दशौं र ११ औं स्थानमा छन् । ७ अंकको शेर्पा १२ औं, ५ अंकको एपीएफ १३ औं स्थानमा रहँदा १ अंक जोडेको सरस्वती पुछारमा रहेको छ । यसरी लिगको तालिका हेर्दा हाल शीर्ष तीन क्लब आर्मी, मछिन्द्र र मनाङ मात्रै उपाधि होडमा देखिएका छन् । तर, शीर्ष सातमा रहेका टोलीबीचको अंक दुरी मात्र ५ अंकको रहेको छ ।

त्यसैले पनि लिगको उपाधि जित्ने अवसर शीर्ष ७ टोलीलाई नै रहेको छ । जारी लिगमा अब ३६ खेल खेल्न बाँकी रहेको छ । यस अर्थमा अब प्रत्येक टिमले ५ खेल मात्रै खेल्न बाँकी रहेको छ । लिगमा ५ खेल बाँकी रहँदा मनाङ एक्लो अपराजित टिम हो । डिफेन्डिङ च्याम्पियन मनाङले गत सिजन ८ अंकको अग्रता लिँदै कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको थियो । उसले उपाधि हात पार्दा अन्तिमको एनआरटीसँग २९ अंकको अग्रता थियो । यस पटक आर्मी बराबरीमा रोकिएसँगै शीर्ष ४ लाई मुख्य उपाधि दाबेबार मानिएको छ ।

अन्य टिमले भने शीर्ष ६ मा रहने लक्ष्य बनाएका छन् । लिगको शीर्ष ६ टिमले राष्ट्रिय लिग खेल्न पाउने छन् । च्यासलका स्ट्राइकर सन्तोष साहुखल जारी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् । सन्तोषले यस सिजन ६ गोल गरिसकेका छन् । राष्ट्रिय टिमका पूर्व स्ट्राइकर रहेका सन्तोषले हालै ए डिभिजन लिगमा १०० गोल पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । नवौं चरणका खेल सोमबार सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्