Logo

चक्रपथ विस्तार अन्तर्गत दोस्रो चरणको काममा ढिलाइ



काठमाडौं,माघ १३। पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तार अन्तर्गतको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि रूख कटान, बिजुलीका पोल स्थानान्तरण तथा सडक क्षेत्रमा परेका संचरना हटाउने कार्य हुन नसक्दा काममा ढिलाइ भएको हो ।

त्यसैगरी, महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो । सम्बद्ध अधिकारीका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउनु र जग्गा अधिग्रहण गर्न नसकिँदा दोस्रो चरणको चक्रपथ विस्तार कार्यमा समस्या देखिएको छ । चक्रपथको कलङ्कीदेखि धोबीखोला चावहिल पुलसम्म दोस्रो चरणमा विस्तार गर्न लागिएको हो ।

चक्रपथको यो खण्डको कुल लम्बाइ ११।६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८।२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ ।चक्रपथ विस्तारअन्तर्गतको सो खण्ड विस्तार गर्न चीन सरकारसँग सम्झौता र सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा सो क्षेत्रमा जडान गरिएका युटिलिटिज प्रयोगका सामग्रीहरूको स्थानान्तरण हुन नसक्दा विस्तार कार्य अघि बढ्न नसकेको हो ।

पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रका जग्गा अधिग्रहण गर्ने निर्णय गरे पनि अधिग्रहण प्रक्रिया सुरु हुनसकेको छैन । चक्रपथ विस्तार गर्न यो खण्डमा सडक सीमाको दायाँ बायाँ ३१÷३१ मिटर जग्गा अधिग्रहण गरिनुपर्ने र सोको मन्त्रिपरिषद्ले निर्णय गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्