Logo

हेडसरको ‘टर्निङ प्वाइन्ट’



काठमाडौं, माघ १३ । सिन्धुपाल्चोक गृहजिल्ला भएका नवनियुक्त सभामुख अग्नि सापकोटालाई जिल्ला र निर्वाचन क्षेत्रका कसैले पनि नामको पछाडि ‘ज्यू’, ‘जी’ जोडेर सम्बोधन गर्दैनन्। ‘अग्नि सर’ को नामले उनी जिल्लामा परिचित छन्। लाग्छ, उनी अझै शिक्षक हुन्। १५ वर्ष शिक्षण गर्ने क्रममा उनले यो परिचय बनाएका थिए।

शिक्षण पेसा छाडेको २८ वर्षपछि पनि उनको यो पहिचान कायमै छ। शिक्षण पेसाका क्रममा उनले सात वर्ष विभिन्न विद्यालयको प्रधानाध्यापक चलाए। तातोपानीको विकट गाउँ बोक्चेनबाट शिक्षणयात्रामा लागेका उनी २०४८ सालमा राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिनुअघि साँगाचोकस्थित जनजागृति माविका शिक्षक थिए। उनले शिक्षण जीवनको लामो समय यही विद्यालयमा व्यतित गरे।

शिक्षण पेसासँगै २०२९ सालमा विद्यार्थी संगठनमा आवद्ध भएर उनले राजनीतिक यात्रा पनि अघि बढाएका थिए। २०३५ सालमा तत्कालीन नेकपा चौथो महाधिवेशनको सदस्यता लिएर उनले पार्टी राजनीति थालनी गरे।

२०३७ सालमा शिक्षक संघर्ष समितिको सदस्य भएर जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महासचिव र उपाध्यक्ष भएका सापकोटाले २०४८ सालमा शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिक यात्रा सुरु गरे। सापकोटाको राजनीतिक यात्राको ‘टर्निङ प्वाइन्ट’ यहींबाट सुरु भएको मानिन्छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्