Logo

पुरी अझै फरार, पार्टी मौन



झापा, माघ १३ । सार्वजनिक जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याएको आरोप लागेका नेकपाका नेता रेवतराज पुरी (गगन) लाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। उनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत उनको विषयमा ठोस धारणा सार्वजनिक गरेको छैन।

सुकुमबासीहरूले २०३६ साल अगाडिबाट भोगचलन गर्दै आएको जग्गा पुरीले किर्ते गरी व्यक्तिको नाममा ल्याएका थिए। दमक–८ बालुवाटारमा बस्दै आएका ८२ घर सुकुमबासीहरू २०४२ सालमा रतुवा नदीको बाढीका कारण विस्थापित भएका थिए। उनीहरू अन्यत्र बसेको समयमा र कतिपयलाई धम्क्याएर नदी उकास जग्गा व्यक्तिको नाममा पारेको आरोप सुकुमबासीहरूको छ।

नुवाकोटबाट झरेर २०३६ सालमा दमक–८ मा बस्दै आएका तसरमान श्रेष्ठलाई २०४२ सालको बाढीले विस्थापित बनायो। उनको चार कठ्ठा पाँच धुर जग्गा पनि बगर बन्यो। उनीहरू बसाइँ सरेर दमक–९ मा पुगे। पछि रतुवा नदीकिनारमा तटबन्ध बन्यो, जग्गा उकासियो। जग्गा उकासिएपछि उनले पुरानो ठाउँ पहिचान गरेर कटेरोसमेत बनाए। कटेरो निमार्णाधिन अवस्थामा थियो। त्यही बेला पुरीले मान्छे लगाएर कटेरो जलाइदिएको श्रेष्ठको गुनासो छ। त्यसपछि उनले जग्गा फिर्ता पाउन अनेकौं प्रयास गरे तर सम्भव भएन।

‘मैैले त्यसबेलादेखि भोगचलन गरेको जग्गा फिल्डबुकमा समेत उल्लेख थियो तर सुकुमबासी आयोगले धनीपुर्जा दिने बेलामा पुरीले हडपे,’ उनले भने, ‘अहिले जग्गा होइन, केही नगद दिन्छु भनिरहेका छन्। तर त्यही नगद पनि कहिले दिने हुन्, टुंगो छैन।’

टेकबहादुर लिम्बुको १२ कठ्ठा जग्गा त्यही बाढीले बगर बनायो। लिम्बु परिवार घरबारविहीन बने। खोलामा बाँध बाँधियो, पुरानै जग्गा भएको ठाउँमा बस्न भनेर गए। तर त्यो जग्गा त पुरीले कब्जा गरिसकेका थिए। लिम्बु परिवार अहिले दमक–८ मै भाडामा बस्दै आएको छ। लिम्बूका छोरा मनप्रसादका अनुसार पुरी पक्षले जग्गाको एक लाख रुपैयाँ दिन्छु भनेका छन्। ‘हामीलाई पैसाको प्रलोभन देखाइएको छ,’ मनप्रसादले भने, ‘तर हामीलाई जति भए पनि पैसा चाहिएन। हामीलाई जग्गा फिर्ता चाहिन्छ।’नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्