Logo

कोरोना भाइरसः चीनबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’



काठमाडौं, माघ १३ । सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको उनको भनाई छ । “कोरोना भाइसर नेपालमा फैलन नदिन सबै सरोकारवालाले उच्च सतर्कता अपनाऔँ, सङ्क्रमण बढेको अवस्थामा नियन्त्रण गर्न सरकार तयार छ”, उनलले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षणका गर्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको र विमानस्थलमा कार्यरत कर्मचारीमा सङ्क्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको उनले बताए । “हामीले सङ्क्रमण नसरोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौँ”, उनको भनाई छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा छिमेकी चीनको भूमिका अत्यन्त महत्वपूर्ण छ भन्दै उनले सो मुलुकबाट आउने पर्यटकलाई उच्च निगरानीमा राखिएको बताए ।विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको उनको भनाई रहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्