Logo

उपसभामुख राजपाले पाउँछ- पूर्वमन्त्री गणेश साह, स्थायी समिति सदस्य, नेकपा



काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य गणेश शाह स्पष्ट वक्ता हुन् । लामो राजनीतिबाट खारिएका उनी सादा जीवन बिताउने कमै नेतामध्ये पर्दछन् । साहसँग समसामयिक राजनीतिक परिस्थितिबारे ऋषि धमलाले गरेको कुराकानीः

नेकपाको केन्द्रीय समिति बैठकको एजेन्डा के के हुन् ?
नेकपाको दोस्रो केन्द्रीय समिति बैठक १७ गतेबाट सुरु हुँदैछ । मुख्य कुरा वर्तमान राजनीतिक दस्तावेजका बारेमा छलफल हुन्छ । दोस्रो दुई पार्टी एक भइसकेपछिको व्यवस्थित बैठक हो । तेस्रो सरकारको कामको बारेमा छलफल हुनेछ । विधानका बारेमा पनि छलफल हुन्छ । यसमा दुई पार्टीबाट आएका नेताहरुबीच भावनात्मक एकताको कुराकानी पनि हुनेछ ।
बैठक कहाँ बस्दै छ ?
राष्ट्रिय सभा गृहमा ११ बजेबाट बैठक सुरु हुनछ ।
केन्द्रीय समितिको बैठक पनि राष्ट्रिय सभागृहमा हुनुपर्यो हो ?
ठूलो कमिटी छ, अरुमा ठाउँ पुग्दैन त्यसैले राष्ट्रिय सभागृहमै बैठक बस्न लागिएको हो ।
राष्ट्रिय सभागृहमा केन्द्रीय समितिको बैठक राखेर सरकारको समीक्षा गर्नुहुन्छ हो ?
सरकारको कामको त समीक्षा गर्नैपर्यो नि । पहिला हामीले दुई तिहाइको सरकार भन्यौं । लामो समयदेखि नेपालमा यस्तै–यस्तै सरकार भएको छ । दुई पार्टी एक भएर काम गरिएको छ । फेरि स्थानीय तहको सहयोगमा राष्ट्रिय सभामा करिबकरिब सबै जसो सिट नेकपाले जितेको छ । जनताले यो सरकारको कामकारबाहीलाई एकदमै उत्साहका साथ हेरिरहेका छन् । यो बैठकमा केन्द्रदेखि स्थानीयसम्मका सरकारको ग्रुप बनाएर छलफल गर्नेछौं ।
सरकारले राम्रो काम गरेन भन्ने कुरा जनताबाट आउन थालेको छ नि ?
केही ठाउँमा राम्रा कामहरु पनि भएका छन्, केही भ्रष्टाचारका कुरा पनि आएका छन् । किन भने ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा पनि भ्रष्टाचारको विषयमा हिजोको भन्दा राम्रो गर्दै आएका छौं । केही विकास निर्माणका कामहरु भएका छन् । अहिले विकृति विसंगति विरुद्ध पनि लड्नु्परेको छ । कर्मचारीतन्त्रसँग पनि लड्दै आएका छौं । त्यसैले अप्ठ्याराहरु धेरै छन् । भएका कामको बारेमा जनतासँग राखिरहनु भएको छ । कहिलेकाही दुर्घटना पनि हुन्छ । त्यस्तै चारदेखि संसद् अवरुद्ध भयो । त्यो अवधिमा हुनुपर्ने कतिपय ऐन, नियमहरु पारित हुन पाएनन् । समग्रमा यो सरकारले राम्रा कामहरु गरेको छ । त्यसमा देखिएका असन्तुष्टिहरु साथीहरुले राख्छन् । पार्टीले पनि केपी ओलीजीलाई पाँच वर्ष काम गर्ने म्यान्डेट दिएको छ । उहाँले भएका सकारत्मक कामको बारेमा जनतालाई सुनाइराख्नुभएको छ । सरकारले केही गरेन भनेर निराशा हुनुपर्ने अवस्था छैन ।
अग्नि सापकोटा निर्विरोध हुनुभयो, उहाँको चुनौतिहरु क्े के हुन् ?
उहाँको ठूलो चुनौति भनेको अहिले धेरै ऐन, कानुनहरु संसाद्मा पेन्डिङ रहेको छ । त्यसलाई पारित गराउन उहाँलाई ठूलो चुनौति छ । अर्को भनेको संसद्मा सांसदहरुको उपस्थिति पातलो देखिएको छ । त्यसैले संसदमा सांसद्हरुको गतिविधिहरु जुन हिसाबले हुनुपथ्र्यो त्यो नभएको देखिन्छ । सांसदहरु भनेका ल मेकरहरु हुन् । ऐन, नियम बनाउने बेलामा उहाँहरु उपस्थित नभएपछि कामै हुँदैन । त्यसैले उहाँले संसद्मा सांसदहरुको सक्रिय सहभागितालाई ध्यान दिएर भूमिका निर्वाह गर्नुपर्छ ।
एमसीसीको बारेमा सत्तारुढ दलभित्र सहमति हुन्छ ?
एमसीसीको विषयमा शीर्ष नेताहरुले पारित गरिसकेपछि त्यसलाई संसदमा पारित गराउन सकिन्छ । अहिलेसम्म हाम्रा पार्टीका नेताहरुमा त्यसको विरुद्ध उभिएर पारित हुन नदिने क्षमता छैन । यसमा शीर्ष नेताहरुले चाहिं बरु गम्भीर रुपमा छलफल गरेर कस्तो रुपमा पारित हुन्छ भनेर स्पष्ट पार्नुपर्छ ।
यसलाई पारित गर्न नेतृत्व एक भएर अगाडि बढ्छ ?
पार्टीको नेतृत्व एकतावद्ध नै छ नि ।
एमसीसी पारित गराउन प्रधानमन्त्री र प्रचण्डको कुरा मिलेको छ ?
त्यो त मिलाउनु पर्छ नि । सभामुखकै कुरामा देख्नुभएन, अहिले फेरि हाम्रो नेतृत्वमा सँगसँगै जानुको विकल्प छैन । त्यसैले दुवै अध्यक्ष मिलेर एमसीसीको विषयमा पनि अगाडि बढ्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।
सत्तारुढ दलकै कतिपय नेताहरुले विरोध गरेका छन् नि ?
विरोध र समर्थनको बारेमा छलफल गरेर पार्टीले जे निर्णय गर्छ, त्यही अनुसार नै पारित हुन्छ । ंत्यस विषयमा मैले त्यति भित्र गएर अध्ययन गरेको छैन । पार्टीभित्र एक ढिक्का भयो भने पारित हुन्छ । त्यो हुन सकेन भने पारित हुँदैन ।
त्यसोभए पार्टीभित्र सर्वसम्मत भएन भने यो मुद्दा पेन्डिङ रहन्छ ?
यो कसैले एक्लै अगाडि बढाउन सक्ने होइन । सर्वसम्मत भएर यथास्थितिमा पेन्डिङ बसिरहन्छ । जनताहरुले पनि आ–आफ्नो ढंगले परिभाषा बुझिरहन्छन् । समयक्रमसँगै यो पनि अगाडि बढिरहन्छ ।
केन्द्रीय समितिमा पनि यसको बारेमा छलफल हुन्छ ?
केन्द्रीय समिति बैठकमा पनि प्रश्न उठाउनेहरुले उठाउनुहुन्छ । तर यसपालि यो भन्दा पनि पार्टीको संगठनात्मक कुरामा नै बढी केन्द्रित भएर छलफल हुन्छ । यसको त स्थायी समितिबाट त हामीले सचिवालयलाई जिम्मा लगाएका हौं ।
उपसभामुख कसलाई दिनुहुृन्छ ?
अहिलेसम्म राजनीतिक वृत्तमा कुरा भएअनुसार राजपाको जस्तै देखिन्छ । तर, म त्यसको निर्णय गर्ने पदमा नभएकोले यसै हो भन्न सक्दिँन । तर, अहिलेसम्म हेर्दा राजपाको जस्तै लाग्छ । सरकारले मधेसका कुनै न कुनै शक्तिलाई साथ लिने चलन पनि भइरहेको छ । पहिला समाजवादी पार्टी थियो ऊ बाहिर गएको छ । त्यसैले राजपालाई ओलीजीले साथ लिने इच्छा गर्नुभएको छ । त्यसको प्रतिफल केही दिनमा देखिन्छ । अब २ नम्बर प्रदेशको सरमार पनि परिवर्तनको सम्भावनामा छ, केन्द्रीय सरकारमा राजपा सामेल हुने सम्भावना पनि बढेको छ ।
प्रदेश नं. २ मा राजपाले सरकारको नेतृत्व गर्ने तपाईहरुले समर्थन गर्ने हो ?
अहिलेको अवस्थालाई नियाल्दा त्यही सम्भावना देखिएको छ । राजपालाई मुख्यमन्त्री दिने हामीले सरकारमा भाग लिने भएपछि त्यहाँ पनि अंशबण्डा सु्रु भइहाल्छ नि ।
तपाईंंहरु पनि त्यहाँको सरकारमा जाने ?
यदि राजपालाई समर्थन गर्ने हो भने प्रदेश नं. २ को सरकारमा भाग लिएर गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्