Logo

महालक्ष्मीमा बनिसकेको बाटोको विजोग (फोटोफिचर)



काठमाडौं, १३ माघ । यो महालक्ष्मी नगरपालिकाभित्र पर्ने ग्वार्को-लामाटार सडकको इमाडोल खण्ड हो । तस्बिरमा देखिएको सडकसँगै महालक्ष्मी नगरपालिकाको कार्यालय छ । तर, कार्यालकै सामुन्न निर्माण सामाग्री जथाभावी थुपारिएको छ ।

नगरपालिकाको सामुन्ने यस्तो छ भने अन्यत्र कस्तो छ तस्बिरले बताउँछ । नगरपालिका कार्यालयको नजिकैका सडक खण्डमा निर्माण सामाग्री, पसल, मोटरसाइकल वर्कशपहरुले जथाभावी सडक कब्जा गरेका छन् । पनौतीसँग जोडेर धुलिखेल-सिन्धुली राजमार्गसम्म जोडिने गरी रणनीतिक महत्वको सडक विकास गरेपनि व्यवस्थापन नहुँदा सडकको बिजोग हुने देखिएको छ ।

महालक्ष्मी नगरपालिकामा पर्ने ग्वार्को-लामाटार सडक खण्डमा २५ प्रतिशत विस्तार भई कालोपत्रे समेत भइसकेको छ । सडकमा जग्गा र घर पर्नेमध्ये कतिपयले विस्तारमा अवरोध गरे । निकै कठिनाईपूर्वक सडकको केही खण्ड निर्माण सम्पन्न त भएको त तर बाटोमा जग्गा जोडिएकाहरुले घर निर्माण गर्दा सडक किनारमा निर्माण सामाग्री राखेर सडकको आयु घटाइदिएका छन् । ईंट्टा रोडा, बालुवा, रड राखेर सडकलाई कुरुप पारेका छन् । यसले सडकको कालोपत्र बिग्रन थालेको छ ।

सडकको छेउमै घर निर्माणका लागि बालुवा चाल्ने देखि निर्माणका लागि काम गर्ने प्रवृत्ति बढेको छ । महालक्ष्मी नगरपालिकाले त्यसमा रोक लगाउन खोज्दा समेत अटेर गरिएको बुझिएको छ । नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठका अनुसार रणनीतिक महत्वको सडकमा निर्माण सामाग्री थुपार्ने कार्य नगर्न बारम्बार आग्रह गरिएको छ । नगर प्रहरी नहुँदा नगरपालिकाले कडाईका साथ काम गर्न समस्या परेको उनले बताए ।

२२ मिटर चौडाईंको ग्वार्को-लामाटार सडकको इमाडोल खण्डमा सबैभन्दा बढी निर्माण सामाग्री राखिएको छ । यतिसम्मकी मोटरसाइकल वर्कशपहरुले जथाभावी मोटरसाइकल सडकमै राख्ने गतिविधि गरिरहेका छन् । मोटरसाइकल पनि सडकमै पखालेर सडक कुरुप बनाइएको छ । यस्ता क्रियाकलापले जनताले कर तिरेको रकमबाट बनेको सडक समय नपुग्दै जीर्ण हुने अवस्था बनेको छ ।

वैकल्पिक राजमार्गका रुपमा विकास गरिएको सरकारले अरबौं खर्च गरेर सडक निर्माण गर्न नकै झन्झट बेहोर्नुपर्छ । बाटोमा अवरोध उसैले गर्छ जसले सडकबाट बढी लाभ लिन्छ । बाटोमा जोडिएको जग्गामा भव्य भवन निर्माण गरी भाडावापत् ठूलो आम्दानी गर्छ । उनीहरुले सडकको जर्गेना भन्दा बिगार्न लागिपर्दा सम्बन्धित निकायले कडा कदम चाल्न नसक्नु गम्भीर विषय बनेको छ ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्