Logo

कांग्रेस नेताहरु ‘तँ-तँ, म-म’ को गालीगलौजमा उत्रिएपछि विवाद बढ्यो



काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु तँ तँ र म मको गालीगलौजमा उत्रिएपछि बैठकको माहोल एकाएक बिग्रिएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकको सुरुवातमै सभापति शेरबहादुर देउवा पक्षधर सहमहामन्त्री डा. प्रकाशशरण महतले बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई ईंगित गरेर पार्टी कार्यालय हाताभित्र नेविसंघ विद्यार्थीहरुले गरेको हुलहुज्जत र प्रदर्शनको निन्दा गरेका थिए ।

बैठक सुरु हुनुअघि नेविसंघका सभापति पक्षधर र पौडेल सिटौलासमूहबीच झडप भएको थियो । नेविसंघको तदर्थ समितिमा उमेर हदबन्दी र वैधानिक व्यवस्थालाई लिएर विद्यार्थीहरुबीच झडप भएको हो । विधानसम्मत् नेतृत्वको माग गर्दै अनशनमा बसेको निर्वतमान महामन्त्री कुन्दनराज काफ्लेको समूहले कांग्रेस सभापति देउवालाई पार्टी कार्यालय प्रवेशमा रोक्न खोजेपछि झडप भएको थियो । काफ्ले सिटौला पक्षधर विद्यार्थी नेताको रुपमा चिनिएका छन् ।

सोही घट्नालाई लिएर सहमहामन्त्री महतले सभापतिको निवासमा एउटा सहमति गर्ने अनि पार्टी कार्यालयमा विद्यार्थीहरुलाई उतारेर के गर्न खोजेको भन्दै पौडेल र सिटौलामाथि प्रश्न उठाएका थिए । देउवा पक्षधर अर्का केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले पनि पौडेल समूहको हर्कत गलत भएको भन्दै कडा निन्दा गरेका थिए ।

पौडेल समूहबाट युवा नेता प्रदीप कुमार पौडेलले सहमहामन्त्री महत र नेता बस्नेतको आक्रोशको जवाफ फर्काएका थिए । स्रोतकाअनुसार बैठकमा शीर्ष नेताहरु नै गालीगलौचको स्थितिमा उत्रिन थालेका थिए । तर, सभापति देउवाले नेताहरुलाई विवाद नलम्ब्याउन निर्देशन दिएपछि माहोल साम्य भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्