Logo

छोरी शिक्षा बीमाप्रति आकर्षण



काठमाडौँ, १४ माघ । प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा/मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ ।

यही माघ २ बाट प्रदेशका आठवटै जिल्लामा सञ्चालन भएको शिविरमार्फत अहिलेसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् । २०७५ माघ १ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रका अनुसार यही माघ १० सम्ममा पाँच हजार ४० छोरीको बिमा गरिएको छ । सप्तरी जिल्लामा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरीमा ६४५, सर्लाहीमा ७६८, रौतहटमा ४६२, बारामा ८०५ र पर्सामा ४६३ छोरीले शिविरमार्फत बिमा गराएको उनले बताए । बिमाका लागि आवश्यक जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुवाको नागरिकता र बच्चा तथा अभिभावकको ६/६ थान फोटो आवश्यक हुन्छ । यति प्रमाण भएपछि प्रदेश सरकारले शिविरमार्फत बीमाको व्यवस्था गरेकोे छ ।

शिविरमा प्रभु बैङ्कका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरू, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शङ्कर सुवेदीले बताएका छन् ।  मुख्यमन्त्री लालबाबु राउतले माघ २ गते पर्साको वीरगन्जबाट र अन्य सात जिल्लामा मन्त्रीहरूको विशेष उपस्थितिमा एकसाथ सुरु गरिएको शिविर आउँदो फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालन हुने सचिव सुवेदीले बताएका छन् ।  यसका साथै शिविरमा बिमा गराउने बालिकाको परिवारले तीन महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेको बताइएको छ । यसैबीच सप्तरीको तीन नगरपालिका र एक गाउँपालिकामा यो शिविर सम्पन्न भएको छ । शिविरमा हालसम्म ८४४ बालिकाको शिक्षा बिमा÷मुद्दती खाता खोलिएको अभियानका सामाजिक सुरक्षा जिल्ला संयोजक पुनम चौधरीले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्