Logo

भ्यु टावर निर्माण अलपत्र



काठमाडौँ, १४ माघ । कामाडौँको पुरानो बसपार्कमा बन्न लागेको अत्याधुनिक सुविधा सम्पन्न ‘काठमाडौँ भ्युटावर’ को निर्माणले गति लिन सकेको छैन ।

निर्माण कम्पनीले निर्माण कार्यलाई प्राथमिकता नदिँदा काठमाडौँ महानगरपालिकाको महत्वाकाङ्क्षी आयोजना मानिएको टावर निर्माण कार्यले सम्झौता भएको साढे तीन वर्षसम्म पनि निर्माण कार्यले गति लिन नसकेको हो । निर्माण कम्पनीले भने यसअघि कहिले भूकम्प र कहिले अत्याधुनिक निर्माण उपकरण अभावका कारण देखाउँदै विगतमा रोकिए पनि पछिल्लो पटक टावर निर्माण कार्यले गति लिएको दाबी गर्दै आएको छ । काठमाडौँ महानगरपालिका र टावर निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई कम्पनीबीच टावर निर्माण गर्ने बारेमा २०७१ सालमा भदौमै सम्झौता भए पनि कार्यदेशसहित सम्झौता २०७३ साउनमा सम्पन्न भएको हो । महानगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौतामा पाँच वर्ष (२०७८) असारभित्रै भौतिक संरचना निर्माण गरिसक्नुपर्ने उल्लेख छ ।

सम्झौता अनुसार २०७८ असार महिनाभित्र टावरको भौतिक संरचना निर्माण गरेर टावर व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिसक्नुपर्ने छ तर अहिले निर्माण भइरहेको गतिले तोकिएको अवधिमा निर्माण सम्पन्न हुने अवस्था देखिँदैन । महानगरपालिकाका सार्वजनिक निजी साझेदारी एकाइका निर्देशक ध्रुव काफ्लेले टावर निर्माण कार्य जुन गतिमा हुनुपथ्र्योे त्यो हुन नसकेको स्वीकार गरेका छन् । उनका अनुसार, टावर निर्माणको अहिलेसम्मको गति हेर्दा तोकिएको समयावधिभित्र सम्पन्न हुने सङ्केत देखिँदैन, तोकिएको समयमा सम्पन्न गर्न निरन्तर दबाब दिँदै आएका छौँ । निर्माण कम्पनीले तोकेको समयभित्र सम्पन्न गर्ने हो भने अबको एक वर्ष पाँच महिनामा सम्पन्न गरिसक्नुपर्छ तर अहिलेको निर्माणको गति हेर्दा त्यो अवस्था देखिँदैन, उनले बताएका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्