Logo

चीनभन्दा बाहिर ४७ जनालाई कोरोना भाइरस



काठमाडौं, माघ १४ । चीनमा कम्तीमा तीन हजारलाई सङ्क्रमित गरेको कोरोनाभाइरसले अन्यत्र थप ४७ जना सङ्क्रमित भएका छन्।नेपालसहित कम्तीमा एक दर्जन देशमा सो सङ्क्रमण फैलिएको छ।

चीनमा सो सङ्क्रमणबाट मारिनेको सङ्ख्या ८२ पुगेको छ।सो भाइरसको सङ्क्रमण पछिल्लोपटक क्यानडामा पनि फेला परेको छ।हालसम्म चीनभन्दा बाहिर कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको मृत्यु भने भएको छैन।

विश्व स्वास्थ्य सङ्गठन तथा राष्ट्रिय निकायहरूका अनुसार चीन बाहिर कम्तीमा ४७ सङ्क्रमणका घटना पुष्टि भएका छन्।सोमवार चीनको राजधानी बेइजिङ्‌मा एकजना पचास वर्षीय पुरुषको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ।चीनमा फैलिरहेको कोरोनाभाइरसको सङ्क्रमणमा राजधानीमा ज्यान गएको यो पहिलो घटना हो।

सङ्क्रमणको केन्द्रमा रहेको वुहान शहर रहेको हुबेइ प्रान्तमा मात्र ७६ जनाको ज्यान गइसकेको छ।बाँकी छ जनाको चीनका अन्य भागमा ज्यान गएको हो।वुहान तथा कैयौँ अरू शहरमा आवतजावत कडाइपूर्वक नियन्त्रण गरिएको छ।

एक करोड दश लाख जनसङ्ख्या भएको वुहान शहरमा यातायात आवागमनमा निकै कडाइ गरिएको छ।अनावश्यक गाडीहरूलाई सडकमा निषेध गरिएको छ बीबीसीका अनुसार वुहानको अस्पतालहरूमा भिड लागेको छ ।हुबेइ प्रान्तको सिमानामा त्यहाँभित्र जान खोज्ने मानिसहरूको ज्वरो नाप्न थालिएको छ।

स्थानीय सरकारका अनुसार बितेको चार दिनमा वुहानबाट कोही पनि चीन बाहिर गएको छैन।वुहानका करिब चार हजार ९६ बासिन्दा अहिले देश बाहिर छन्।साथै, पचास लाख बासिन्दा चाहिँ नयाँ वर्षको उत्सवका निम्ति त्यहाँ कडाइ गरिनु अगावै चीनका अन्य भागमा घुम्न गएका थिए।शाङ्घाइ शहरमा फेब्रुअरी १० तारिखसम्म बिदा भनिएको छ।

व्यावसायिक निकायहरूमा त्यतिञ्जेल मानिसहरू काममा नआउन भनिएको छ।उक्त प्रतिबन्ध सरकारी सेवा प्रदायक संस्था तथा औषधि र उपचारसम्बन्धी संस्था अनि सुपरमार्केटहरूमा भने लागु नहुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्