Logo

गाउँमा न औषधि न स्वास्थ्यकर्मी



काठमाडौँ, १४ माघ । हुम्लाको चंखेली गाउँपालिका–६ मा फैलिएको मौसली फ्लुका कारण दुई सातामा सातजनाले ज्यान गुमाए। वडाका सात गाउँ मौसमी फ्लुले थलिएका छन्।

मौसमी फ्लुको प्रकोप सुरु भएको दुई साता हुँदा पनि अहिलेसम्म गाउँमा न स्वास्थ्यकर्मी पुगेका छन् न औषधि नौ गाउँ हेर्ने मेलखाम स्वास्थ्यचौकीमा औषधि सकिएको एक साता भयो। ‘बिरामीलाई दिन स्वास्थ्यसंस्थामा सिटामोल पनि छैन’, अहेव जयलाल बुढाले भने, ‘स्थानीय र प्रदेश सरकारलाई गाउँको अवस्थाबारे पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन।’ स्वास्थ्यचौकीमा अहेव बुढासहित एक अनमी कार्यरत छन्। अहेव बुढाका अनुसार सात गाउँका एक सय ५० भन्दा बढी स्थानीय मौसमी फ्लुले थलिएका छन्। ‘औषधि नहुँदा स्वास्थ्य संस्थामा आउने बिरामी उपचार नपाएरै फर्किने गरेका छन्,’ उनले भने, ‘गाउँपालिकाले पनि अहिलेसम्म औषधि उपलब्ध गराएको छैन।’

गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईं, उपाध्यक्ष विमलाकुमारी शाही र कार्यकारी अधिकृत एक साता प्रदेश राजधानी वीरेन्द्रनगर बसेर संघीय राजधानी काठमाडौं लागेका छन्। गाउँपालिका अध्यक्ष चौलागाईंले स्वास्थ्य शाखामा पर्याप्त औषधि रहे पनि प्रभावित क्षेत्रमा पु(याउन नसकिएको बताए। ‘एक सातादेखि हामी गाउँपालिका बाहिर छौं,’ उनले भने, ‘स्वास्थ्य शाखामा पर्याप्त औषधि छ, प्रभावित क्षेत्रमा पु(याउन नसकिएको हो।’ उनले स्वास्थ्यकर्मीको अभावमा बिरामीको प्रभावकारी उपचार हुन नसकेको बताए। ‘हामीले उपचार गर्ने होइन, जिल्लामै दक्ष डाक्टर बस्दैनन्’ उनले भने, ‘गाउँको अहिलेको समस्या औषधिभन्दा पनि दक्ष स्वास्थ्यकर्मीको हो।’

अन्य ठाउँमा सामान्य बिरामीका लागि हेलिकोप्टर लिएर पुग्ने प्रदेश सरकारले दुई सातादेखि हुम्लामा फैलिएको फ्लु नियन्त्रणका लागि खासै चासो देखाएको छैन। दुई साता अवधिमा चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । त्यस्तै सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।

अन्य ठाउँमा सामान्य बिरामीका लागि हेलिकोप्टर लिएर पुग्ने प्रदेश सरकारले दुई सातादेखि हुम्लामा फैलिएको फ्लु नियन्त्रणका लागि खासै चासो दिएको छैन। नागरिकमा समाचार प्रकाशित भएपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट दुईजना र प्रदेश अस्पताल सुर्खेतबाट दुईजना डाक्टरको नेतृत्वमा औषधिसहित छुट्टाछुट्टै टोली पठाएको छ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्