Logo

कांग्रेस अधिवेशन कात्तिक १५ देखि



काठमाडौं, माघ १४ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले १४औं महाधिवेशनको मिति कायमै राख्दै स्थानीय तहको कार्यतालिका संशोधन गरेको छ। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको सहभागितामा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकले यसअघिको कार्यतालिका संशोधन गरेको हो।

संशोधित कार्यतालिकाअनुसार २०७७ कात्तिक १६ गतेबाट स्थानीय तहको अधिवेशन सुरु गरेर २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय छ। यसअघि मंसिर ९ गतेबाट सुरु गरेर २५ गते जिल्ला अधिवेशन गर्नेगरी पुस ११ गतेको केन्द्रीय समितिले निर्णय गरेको थियो। तर, पौडेलसहितका असन्तुष्ट पक्षले आफूहरूको सहभागिताबिनै कार्यतालिका पारित गरिएको भन्दै संशोधन गर्नुपर्ने माग राख्दै आएका थिए। उनीहरूको माग सम्बोधन गर्नेगरी शुक्रबार सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताको बैठकले २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने मिति कायमै राख्दै तल्लो तहको कार्यतालिका संशोधन गर्ने सहमति गरेका थिए।

सोही सहमतिअनुसार सोमबार पेस भएको संशोधित कार्यतालिका बैठकले पारित गरेको छ। जसअनुसार वडा कात्तिक १६ गते, गाउँ÷नगरपालिका १८ गते, प्रदेशसभा क्षेत्र २१ गते, प्रतिनिधि सभा क्षेत्र २३ गते र जिल्ला २५ गते अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। प्रदेश अधिवेशन २०७७ मंसिर २९ गते गर्ने निर्णय गरेको छ। यसअघि कांग्रेसले पुस १५ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो।

बैठकले २०७६ चैत मसान्ताभित्र नयाँ सदस्यता वितरण र नवीकरण गर्ने समय निर्धारण गर्दै साउनमा सदस्यता छानबिन समितिले अन्तिम टुंगो लगाएर निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय भएको केन्द्रीय सदस्य श्यामकुमार घिमिरले जानकारी दिए। यसअघि वैशाखसम्म सदस्यता छानबिन गर्ने र साउनभित्र सदस्यता टुंगो लगाएर निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको थियो।

असन्तुष्ट पक्षको मागअनुसार २०७७ मंसिर ९ गतेबाट सुरु गर्ने भनिएको अधिवेशन कात्तिक १५ बाट गर्नेगरी कार्यतालिका संशोधन गर्ने सहमति भएको छ।



प्रतिक्रिया दिनुहोस्