Logo

जता जंगल उतै डोजर



काठमाडौँ, १४ माघ । डडेलधुरा गोगनका हरि नाथ ०५९ सालमा आफनो गाउँ जोडने सडक निर्माण सुरु हुँदा १७ वर्षका थिए । गोगन हुँदै अमरगढी नगरपालिकाको चिर्किट्टे पुग्ने उक्त सडकको उपभोक्ता समितिमा बस्न खोज्दा उनले उमेर नपुगेकाले पाएनन् । उनी समितिमा बस्न नपाए पनि सडक निर्माण सुरु भयो ।

सदरमुकाम अमरगढी नगरपालिकाको चिर्किट्टे नजिकको सडक खण्ड । १७ वर्षअघि निर्माण सुरु भएको भित्री मधेसदेखि सदरमुकाम जोडने चिर्किट्टे सडकमा करोडौं खर्च भइसक्दा पनि निर्माण सम्पन्न भएको छैन । हरेक वर्ष बजेट मात्र खर्च हुन्छ तर अहिलेसम्म सडक निर्माण हुन सकेको छैन । उक्त सडक खनिनसक्दै भित्री मधेसको साविक शीर्ष र आलीताल गाविसको सलुनबाट गोगन हुँदै चिर्किट्टे जोडन थप दुईवटा सडक खन्न थालियो। केही समयपछि जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिबाट अर्को सडक निर्माण सुरु भयो। चिर्किट्टे जोडनकै लागि त्यसपछि अरू पाँचवटा सडक खनिएका छन्।

नाथ अहिले ३४ वर्षका भए तर कुनै पनि सडक पूरा भएका छैनन्। बरु महाभारतका भित्री बस्तीलाई चिर्किट्टेसँग जोडेर ६र७ किलोमिटर परको सदरमुकाम पुर्‍याउने नाममा स्थानीय जनप्रतिनिधिको आँखै अघि घना सालका जंगल फँडानी भइरहेका छन्, दुर्लभ र बहुमूल्य जडीबुटीहरू विनाश भइरहेका छन्। भित्री मधेससँग जोडिएको महाभारतको तल्लो भेगमा सालको घना जंगल छ। मथिल्लो भेगमा बहुमूल्य लौठ सल्ला र जडीबुटी पाइन्छ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्