Logo

पूरै एअर इन्डिया बेच्ने भारत सरकारको घोषणा



काठमाडौं, माघ १४ । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ।नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ।एअर इन्डियाको आठ अर्ब डलर ऋणमध्ये खरिदकर्ताले तीन अर्ब डलरभन्दा बढी तिर्नुपर्ने हुन्छ।

एअर इन्डियाको शेअर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना हो तर सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन्।सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ताको आकर्षण नभएको ठानिन्छ।

द डिसेन्ट अफ एअर इन्डियाु पुस्तकका लेखक तथा उक्त वायुसेवाका एक जना पूर्वकार्यकारी जितेन्द्र भार्गवका अनुसार अहिले गरिएको आह्वान सकारात्मक रहेको छ। उनले यसले नीजि लगानीकर्तालाई तान्न सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

एअर इन्डियासँग १४६ विमान छ र घरेलु तथा अन्तर्राष्ट्रिय उडानका लागि आकर्षक अवतरणमार्ग र पार्किङस्थल रहेको छ।तर कम भाडा लिने प्रतिस्पर्धाका कारण उसले अघिल्लो दशकमा निरन्तर बजार गुमाएको थियो। उसको ऋण दायित्व आठ अर्ब डलर नाघिसकेको ठानिन्छ।तर स्वामित्व लिन चाहनेले सवा तीन अर्ब डलर बराबरको उत्तरदायित्व मात्रै वहन गर्नुपर्ने नयाँ सर्तमा उल्लेख छ।

कतिपय विज्ञले १४ हजारभन्दा बढी कर्मचारी रहेको उक्त वायुसेवामा कर्मचारीहरूको पुनसंरचना पनि चुनौतीपूर्ण हुने बताएका छन्।कर्मचारी युनियनहरूले सरकारी प्रस्तावबारे छलफल समेत थालिसकेको बताइन्छ।



प्रतिक्रिया दिनुहोस्