Logo

विशेष समय : विषादी तरकारी, कोरोना भाइरस अनि आस्था राउत



माघ १४, काठमाण्डौ । राष्ट्रियसभको विशेष समयमा बोल्ने सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विषादीयुक्त तरकारीदेखि कोरोना भाइरससम्मको विषय उठाइएको छ । आस्था राउतलाई थुनामा राखिएको पनि सांसदहरुले आपत्ति जनाएका छन् ।

मंगलबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य बलराम बास्कोटाले विदेशबाट आउने तरकारीमा रोकिएको जाँच प्रकृया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । विषाधियुक्त तरकारी खान बाध्य हुनुपरेको भन्दै उनले विदेशबाट आउने तरकारी रोकिएको जाँच प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले चीन लगायत दर्जनौ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सुरु भएकाले पूर्व तयारीका लागि सरकारले काम सुरु गर्नेतर्फ सरकारका ध्यानाकर्षण गराएका छन् । चीनमा अध्ययनरत नेपाली विद्यार्थी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई सुरक्षित नेपाल फर्काउने कुरामा गम्भिरतापूर्वक लाग्न सरकारर्लाइ आग्रह गरे ।

कोमल वलीले गायिका आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी थिइन् । अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्धामा यस्तो अवस्था नभएपनि थुनामा राख्नु गलत भएको बताइन् ।

यसैबीच गायिका आस्था राउतलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेशपछि राउत रिहा भएकी छिन् । उनलाई सोमबार अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्