Logo

उडायो सपना : १० वर्षमा ७ हजार ४ सय ६१ जनाको मृत्यु



माघ १४, काठमाण्डौ । स्वदेशमा रोजगारीको अभाव, घरपरिवार पाल्नुपर्ने बाध्यता अनि विदेश प्रस्थान । लाखौँ नेपालीको यथार्थ हो यो । तर विदेश जाँदैमा सबै समस्या समाधान हुँदैन । उल्टै दुःख र पिडा भोग्नुपर्छ । अझ विदेशमा मृत्यु हुने नेपालीको तथ्याङ्क त डरलाग्दो छ ।

घरको छानो फेर्ने र परिवारको मुहारमा खुसी छर्ने अभिलासा वोकेर १५ महिना अगाडी झापा गौरादहका नारायण अधिकारी दुवई उडेका थिए । चाडैं आउँछु भनेर श्रीमति र १३ महिनाकी छोरीसँग गरेको वाचा कहिल्यै पुरा भएन् । उमेरले तीन दशक पनि नपुगेका नारायणको शव माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो । शव वुझ्न आएका उनका आफन्त भावविह्वल देखिन्थे । श्रीमती मुर्छित अवस्थामा थिइन् । उनका भाइले विदेश जानुपर्ने बाध्यता र दाजुको मृत्युले परिवार विक्षिप्त भएको बताए ।

शव विमानस्थलको गेटवाट वाहिर निकाल्ने वित्तिकै नारायणकी सासु आमा अर्धमुर्छित भइन् । उनी ज्वाइको अभावमा छोरीले के गर्लिन भन्दै छटपटिराखेकी थिइन् । नारायणसँगै दुवईमा काम गर्दै आएका उनका काका लक्ष्मण अधिकारीका अनुसार नारायणको हृदयघातका कारण मृत्यु भएको मेडिकल रिपोर्टमा उल्लेख छ । स्वदेशमा राम्रो काम र कामअनुसारको पारिश्रमिक नहुँदा यस्तो नियति भोग्नुपरेको गुनासो गरे ।

स्वदेशमा रोजगारीको गतिलो अवसर नपाएपछि दैनिक हजार वढि नेपाली परदेशमा पसिना वेच्न पुग्ने गर्छन् । उनीहरुमध्ये दैनिक दुईदेखि पाँच जनाको शव नेपाल आउने गरेको छ । वैदेशिक रोजगार वोर्डको सचिवालयले उपलव्ध गराएको तथ्यांक अनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ७ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय १३ अंगभग भएर अस्पतालमा उपचाररत छन् ।

कुन आर्थिक वर्षमा कतिको मृत्यु कति अंगभंग ?

–आर्थिक वर्ष २०६५/६६
मृत्यु संख्या– ७७
अंगभंग संख्या– ८
–आर्थिक वर्ष २०६६/६७
मृत्यु संख्या– ४ सय १९
अंगभंग संख्या– १०
–आर्थिक वर्ष २०६७/६८
मृत्यु संख्या– ५ सय ६६
अंगभंग संख्या– ३१
–आर्थिक वर्ष २०६८/६९
मृत्यु संख्या– ६ सय ४८
अंगभंग संख्या– ५७
–आर्थिक वर्ष २०६९/७०
मृत्यु संख्या– ७ सय २२
अंगभंग संख्या– ९०
–आर्थिक वर्ष २०७०/७१
मृत्यु संख्या– ८ सय ७७
अंगभंग संख्या– १ सय १६
–आर्थिक वर्ष २०७१/०७२
मृत्यु संख्या– १ हजार ६
अंगभंग संख्या– १ सय ८४
–आर्थिक वर्ष २०७२/०७३
मृत्यु संख्या– ८ सय १६
अंगभंग संख्या– १ सय १७
–आर्थिक वर्ष २०७३/०७४
मृत्यु संख्या– ७ सय ५६
अंगभंग संख्या– २ सय ४
–आर्थिक वर्ष २०७४\०७५
मृत्यु संख्या– ८ सय २१
अंगभंग संख्या– ३ सय ६१
–आर्थिक वर्ष २०७५/०७६
मृत्यु संख्या– ७ सय ५३
अंगभंग संख्या– ३ सय ३५

यो तथ्यांकले के देखाउँछ भने वैदेशिक रोजगारीमा गएकाहरु मध्ये अनाहकमा ज्यान गुमाने र अंगभंग हुनेको संख्या वढ्दै गएको छ । विदेशमा पसिना बगाएर पैसा कमाउनेहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको त छ तर उनीहरुको समस्या र बाध्यतालाई भने सरकारले बेवास्ता गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्