Logo

युवा पुस्तालाई सभापति बनाउन सबै तयार हुनुपर्छ : केसी



माघ १४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुरानो पुस्ता पछि हटेर युवा पुस्तालाई सभापति बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता सिंहले सभापतिका दाबेदार सबै शीर्ष नेताहरु स्ट्यान्डिङ कमिटिमा बसेर युवा पुस्तालाई अघि सार्नुपर्ने बताएका हुन् ।

“सभापतिको दाबेदार त म पनि हुँ । अरु धेरै हुनुहुन्छ । तर अब हामी सबै एउटा कमिटिमा बसेर युवा पुस्तालाई सभापति बनाउन तयार हुनुपर्छ ।” केसीले भने ।

केसीले घुमाउरो भाषामा गगन थापालाई सभापति बनाउनुपर्ने आशय व्यक्त गरेका थिए । नाताले ज्वाई पर्ने थापा युवा पुस्तामध्ये चर्चित र लोकप्रिय मानिन्छन् ।

वर्तमान सभापति शेरबहादुर देउवाले अहिलेसम्म गरेको योगदानको सम्मान गर्दै अब भने सभापति बन्नबाट रोक्नुपर्ने केसीको आशय थियो ।

नेविसंघमा ३२ वर्षे उमेरहद कायम गर्नुपर्ने अडान पनि केसीले राखेका छन् । विधान विपरित गएर जसलाई पायो उसैलाई नेविसंघको नेतृत्वमा ल्याउनु गलत हुने केसीको भनाइ थियो ।

फरक प्रसंगमा केसीले विवादित एमसीसीबारे पहिला जनतालाई स्पष्ट बनाएर मात्रै संसदमा लैजानुपर्नेमा जोड दिए । एमसीसीबारे नेपालले गरेको सहमति जस्ताको तस्तै जनतालाई देखाएर बल्ल बाँकी प्रक्रिया अघि बढाउनुपर्नेमा केसीले जोड दिएका छन् ।

केसीले केपी ओली नेतृत्वको सरकार असफल भएको आरोप पनि लगाए । अहिलेको सरकारको पालामा ठूला भ्रष्टाचारका काण्ड एकपछि अर्को गर्दै सार्वजनिक हुनु दुखद भएको बताउँदै छानविनका लागि विशेष समिति गठन गर्न माग पनि गरे । केसीले पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा वाइडबडी विमान खरिदमा भएको अनियमितता, ललिता निवासको जग्गा प्रकरण, यति होल्डिङ्ससँग सरकारले गरेको सम्झौता लगायतका विषयमा छानविन गर्नुपर्ने तर्क गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्