Logo

समाचार प्रभावः महालक्ष्मी नगरपालिकाले दियो कडा कारबाहीको चेतावनी



काठमाडौं, १३ माघ । महालक्ष्मी नगरपालिकाले ग्वार्को-लामाटार सडक खण्डमा अव्यवस्थित रुपमा व्यवसायिक कार्यहरु गर्ने, निर्माण सामाग्रीहरु राख्ने तथा पार्किङ गर्ने कार्य नरोके कारबाही गर्ने जनाएको छ । नगरपालिकाको उक्त सडकको इमाडोल सडक खण्ड पर्ने वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण रोक्काले मंगलबार सूचना जारी गरी यस्ता कार्य अबिलम्ब रोक्न भन्दै नरोके कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

सडकमा निर्माण सामाग्री र अव्यवस्थित पार्किङले सवारी दुर्घटना बढेको विषय रिपोर्टर्स नेपालले सोमबार फोटोफिचरसहितको समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि महालक्ष्मी नगरपालिकाले गम्भीर चासो व्यक्त गर्दै सूचना प्रकाशित गरी कारबाहीको चेतावनी दिएको हो । नगरपालिकाको चेतावनीसहितको सूचना प्रकाशनका बाबजुद पनि मंगलबार निर्माण सामाग्री र अव्यवस्थित पार्किङ देखिएको छ ।

महालक्ष्मी नगरपालिकाभित्र पर्ने ग्वार्को-लामाटार सडकको इमाडोल खण्डमा पर्ने महालक्ष्मी नगरपालिकाको कार्यालयकै सामुन्न निर्माण सामाग्री जथाभावी थुपारिएको छ । पनौतीसँग जोडेर धुलिखेल सिन्धुली राजमार्गसम्म जोडिने गरी रणनीतिक महत्वको सडक विकास गरेपनि व्यवस्थापन नहुँदा सडकको बिजोग भएपछि सर्वसाधारणले समेत चासो व्यक्त गरेका छन् । सडकमा जथाभावी निर्माण सामाग्री राख्ने, पार्किङ गर्ने, पसल र वर्कशपहरु संचालन गर्नेमाथि कडा कारबाहीको जोडदार माग भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्