Logo

‘के लोकतन्त्रमा बोल्नुपनि अपराध हो ?’



दिलीप बावु शिवा :  म आस्था राउतलाई ब्यक्तिगत रुपमा चिन्दिन् । स्वाभावैले उनलेपनि मलाई चिन्दिनन् । तर, जे होस उनी नेपाली कला र संगित क्षेत्रमा भबिष्य खोजेर गीत र संगितको माध्यमबाट आफ्नो पहिचान स्थापित् गरेकी संघर्षशील कलाकार हुन् । उनी कलाकार हुन, त्यसअर्थमा राज्यको गहना पनि हुन् । तर, त्यसको मतलव उनी सर्वोपरि हैनन् । पछिल्लो समय त्रिभुवन विमानस्थलमा उनीमाथि भएको अभद्र ब्यबहारको निन्दा गर्दै उनले सामाजिक सञ्जाल फेशबुकमार्फत प्रत्यक्ष आएर देखाएको आक्रोशले उनी विवादको शिखरमा पुगिन् ।

२४ घण्टा नबित्दै घटनासंग सम्बन्धित् भिडियो फुटेज घटनास्थलबाट बाहिर आयो । जसमा उनीहरुबीच भएको वार्तालापलाई गौण राखियो । र, एकतर्फी रुपमा आस्थाका शारिरिक प्रतिकृयाहरुलाई केन्द्रित गरेर उनी नै गलत थिईन् र महिला प्रहरीले नियमित कामकारबाही मात्रै गरेकी थिईन भन्ने बनाईयो।

राष्ट्रस्तरबाट आस्थाको निन्दा भयो र महिला प्रहरीमाथि सहानुभूति वर्षियो । घटनाको उत्पति आस्था राउतमाथि गरिएको अभद्र शब्दबाट भएको कुरा उनी आँफैले बयान दिएकी छन् । तर, उनीहरुबीच भएको वार्तालापलाई गुपचुप राखियो।

प्रहरी जनताले गाँस काटेर राज्यलाई दिएको करबाट पालिने हुन् । प्रहरी जनताको सेवक हो, मालिक अथवा शासक हैन। प्रहरीको कर्तब्य जनताको जन-धनको सुरक्षा गर्नु र संगसंगै आत्मसम्मानको पनि रक्षा गर्नु हो। प्रहरीको बर्दी रवाफ देखाउने पोशाक नभएर जिम्मेवारीको प्रतिक हो। नेपालका प्रहरीहरु बर्दी भीरेपछि आफुलाई सर्वेसर्वा सम्झन्छन् ।

उनीहरु सर्वहारा जनतालाई बदीकोभन्दा तल झुकाउन चाहन्छन् । उनीहरु जे मन लाग्छ, त्यही बोल्छन् । र, जे मनपर्छ त्यही गर्छन् । एउटा सामान्य वार्तालापबाट उत्पन्न भएको विवादबाट क्रोधित एक महिलाको भावनालाई पहाड बनाएर प्रहरीले कारबाहीसमेत अघि बढाएको छ।

फेशबुक लाईभमा आस्थाले भनेका र बोलेका केही शब्दहरु उनले हाँसिल गरेको स्तर र उनको व्यक्तित्वअनुसार आम मानिसले अपेक्षा गरेका थिएनन् । उनले प्रयोग गरेका शब्दले कतिपयको उनलाई हेर्ने नजर बदलिएको छ । जुन फेम उनले आफ्नो क्षमताले कमाएकी थिईन्, उनले प्रकट गरेको स्वभावले त्यसमा केही धमिलोपन मिसाईदिएको छ । तर, यसको मतलव यो हैन कि उनले बोल्नुनै अपराध थियो ।

राज्यका जिम्मेवार अंगहरुमाथि गरेको गाली र निम्नस्तरीय शब्दको प्रयोगले उनलाई बौद्धिक बृत्तको नजरबाट केही तल गिराएको छ । तर, यो देशमा बोल्नै नहुने कानुन पनि छैन । लोकतन्त्रमा बिरोध गर्दा जुनसुकै शब्द र शैलीमा अभिब्यक्त गर्न सकिन्छ । शब्द चयनले ब्यक्तित्व र समाजिक प्रतिष्ठामा पर्ने असर भनेको निजी क्षति हो । त्यसको भागिदार ब्यक्ति स्वयम हुन्छ ।

बोलेको र प्रशासनिक अंगको नाम उच्चारण गरेकै भरमा सिधै अर्थमा भन्दा एउटा प्रहरीलाई डण्ठे र बन्दुके भन्दैमा उ प्रहरीको कारवाहीको दायरामा पर्ने कुरा लोकतान्त्रिक राज्यको परिकल्पनाभन्दा बाहिरको कुरा हो । आस्था राउतले क्रोधमा आफूले गरेको गल्तीको महशुस गरेकी छन् । र, त्यो गल्तीको प्रायःश्चित् पनि गरिसकेकी छन । १० मिनेटको प्रशारणले उनको जीवनमा सकारात्मक र नकरात्मक दुवै असर परेका छन् ।

सम्भवतः अंहकारले बर्षौको तपस्या र प्राप्तीलाई क्षणभरमा समाप्त पार्छ भनेरसमेत उनले बुझिसकिन् । सायद, यस गल्तीले उनलाई भोलीका दिनमा सच्चिने पाठ मिल्नेछ । तर, अर्को पाटोबाट हेर्दा त्यही १० मिनेटमा उनले सिस्टममाथि प्रश्न उठाएकी छिन् । प्रहरीको कार्यशैली र व्यवहारमाथि प्रश्न उठाएकी छिन् । के सुध्रिन आस्था राउतमात्रै पर्छ ? प्रहरीले पर्दैन् ?

गलत आस्थामात्रै हुन, प्रहरी हैनन् ? आस्था राउतमाथि कानुन लाग्छ ? एउटा कलाकार अथवा आम नागरिकको आत्मसम्मानमा चोट पुर्याउने प्रहरी चाहीँ कारवाहीको दायरामा पर्दैनन् ? यो देशमा प्रहरीले जे गरेपनि हुन्छ ? प्रहरीको बिरुद्धमा आम नागरिकले बोल्नु अपराध हो ? आस्था राउत प्रकरणमा प्रहरीले देखाएको तदारुकता सामाजिक न्याय र सुशासनको पक्षमा देखाउन सके नतिजा के हुने थियो ?

कानूनको नाममा आम नागरिकलाई गैरन्यायिक निगरानी र बोलेकै भरमा पूर्पक्षका निम्ति प्रहरी हिरासतमा लिईन खोज्नु र उसलाई अपराधीसरह व्यवहार गरिनु एउटा आम नागरिकमाथिको अपमान र लोकतान्त्रिक मुल्य र मान्यताको उपहास हो । प्रशासनका त्रुटि र प्रहरीको अभद्रताविरुद्ध मौन बस्नका लागि हामी उत्तर कोरियामा छैनौं । सात दशकको कठिन संघर्षपश्चात् ल्याएको गणतन्त्र यसका लागि थिएन । जुन अभ्यास आज राज्यको संरक्षणमा राज्यका अंगहरूद्वारा गरिँदैछ ।

जनता नै सर्वेसर्वा हुनुपर्ने लोकतान्त्रिक मुलुकमा यो सरासर राज्य आतंक हो। प्रहरीलाई माध्यम बनाएर वर्तमान सत्ताले ‘कसैले पनि हामीबिरुद्ध बोल्ने चेष्टा नगर, गरेमा जाकिनेछौ र सिद्दिनेछौ’ भन्ने भय पैदा गर्न र जनतालाई आफुअनुकुल नियन्त्रित गर्न चाहान्छ । सत्ताको मुनि प्रहरी र प्रहरीको मुनि जनतालाई राखेर अधिनायकवादको एउटा बृत्त निर्माण गरि सर्वसत्तावादी चिन्तनलाई भयको जगमा स्थापित् गर्ने दिवास्वप्न लोकतान्त्रिक मुलुकमा पुरा हुँदैन भन्ने राज्यले बुझ्नुपर्छ।

आस्था राउतको थोरै अंहकारीपनका कारण उनले आवश्यकत्ताअनुसार आफ्नो पक्षमा बोलिदिने र प्रशासनको खुलेर बिरोध गर्नसक्ने बौद्धिक वर्गहरुको समर्थक पाउन सकिनन् । तर, उनीसंग जे भईरहेको छ यो सरासर अन्याय भएको छ । उनले प्रहरीसमक्ष गएर सफाया दिनुपर्ने कुनै ठुलो अपराध गरेकी हैनन् । विरोधलाई विवेकपूर्ण तरिकाले पेश गर्न नजानेकीमात्रै हुन् ।

आफ्नो स्तरअनुसारका शब्द प्रयोग गर्नबाट चुकेकी हुन् । कसैलाई धाक वा धम्कि दिएकी हैनन् । प्रहरीलाई बिम्ब बनाएर रुखो शैलीमा सिंगो संस्थामा शालिनता खोजेकी हुन र आफुलगायत आम नागरिकको आत्मसम्मानको रक्षाको प्रत्याभूति दिलाउन प्रहरीलाई घच्घचाएकी हुन् । सार्वभौम देशको सचेत नागरिकको हैसियतले आफ्नो बिमतीलाई ब्यक्त गर्न पाउनु उनको अधिकार हो।

आज आस्थाका बिरुद्धमा गैरन्यायिक प्रकृयाबाट प्रहरीले गरेको कारबहीको मौन समर्थन गर्ने र अभिब्यक्ति स्वतन्त्रताका पक्षमा वकालत नगर्नेहरुलाई पनि भोलि बोलेकै भरमा प्रहरीले यही हाल गराउन सक्छ । त्यतिबेला प्रसिद्ध जर्मन कवि मार्टिन निमुलरको एउटा कविता पक्कै सम्झना आउनेछ। “जब उनीहरु समाजवादीलाई लिन आए, म बोलिन! किन कि म समाजवादी थिईन। उनीहरु टेड्र यूनियनकर्मीलाई लिन आए, म बोलिन! किनकी म ट्रेड युनियनकर्मी थिईन। उनीहरु यहुदीलाई लिन आए, म बोलिन! किनकी म यहुदी थिईन। जब उनीहरु मलाई लिन आए, मेरा लागि बोलिदिने कोही बचेको थिएन!!”

एकदिन बोलेको कसुरमा अपराधी करार भएर हामीमध्ये जो कोही झ्यालखाना पर्नसक्छौं । झ्यालखाना परेपछि हामी पछुतो मान्दै आफुलाई यही सोध्ने छौं ‘के लोकतन्त्रमा बोल्नु पनि अपराध हो?’ हैन! लोकतन्त्र बोल्नकै लागि आएको हो । बोलेकै भरमा अपराधीमा सुचिकृत गराउनु सरासर गलत हो । गलतको बिरोध नगर्ने आदतले एकदिन आँफैलाई शिकार बनाउँछ । त्यसैले गलत प्रवृत्तिलाई आँखाअघि गलत हुन नदिनु लोकतान्त्रिक मुलुकका सचेत नागरिकको कर्तव्य हो ।

अन्ततः यस घटनाबाट आस्था राउतलाई अंहकारको दुनियाँबाट बाहिर निस्कन र प्रहरीलाई ‘प्रहरी मेरो साथी’ नारालाई ब्यबहारिक बनाउन नयाँ शिक्षा मिलोस । शुभकामना छ ।

(दिलीप बावु शिवा
(झापा)
जय नेपाल



प्रतिक्रिया दिनुहोस्