Logo

लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने



पोखरा, माघ १५ । पोखराको अन्तर्रा्ष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो ।

प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते सोमबार बिहान ७ः३० बजे लुम्बिनीबाट लामा गुरुलाई हस्तान्तरण गर्नुहुने उक्त शान्तिदीपलाई सोही दिन पोखराको हेम्जास्थित शाक्य गुम्बामा ल्याएर राखिने कार्यक्रम छ ।

नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सहयोगमा हुने पूजाको पहिलो दिन लामा गुरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त शान्तिदीप हस्तान्तरण गर्ने र दीपसहितको ¥याली पोखराको मुख्य पर्यटकीय स्थल हल्लनचोकबाट शुरु गरिनेछ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक कुलबहादुर गुरुङका अनुसार शान्तिदीपसहितको ¥याली फेवाताल किनारास्थित बाराहीघाट, रत्न मन्दिर, हिमागृह, अम्बोट, शहीदचोक, हुँदै पर्वतीय सङ्ग्रहालयमा पुगेर धार्मिकसभामा परिणत हुने कार्यक्रम रहेको छ ।

शान्ति पूजाअन्तर्गत माघ २१ गते बिहान शान्तिदीप र काङग्युर तथा तेन्ग्यूर परिक्रमा, दिउँसो लामाहरुबाट बज्रकिलाया मुकुट नृत्य कार्यक्रमको आयोजना हुने बताउँदै उहाँले सोही दिन सङ्ग्रहालयमा वाङ अभिषेकका साथै धार्मिक प्रवचन गरिने भएको छ । मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेसहित ६० बढी लामा गुरुबाट शान्तिको कामनासहित गरिने प्रवचनमा ५०० भन्दाबढी बुद्ध दर्शनसँग सम्बन्धित पुस्तक वाचन गरिने संयोजक गुरुङको भनाइ छ ।

बौद्ध दर्शनको माध्यमबाट विश्वमा स्थायी शान्ति कायम गर्दै समाज, राष्ट्र एवं विश्वमा धार्मिक सहिष्णुताको सन्देश पु¥याउने लक्ष्य राखिएको छ । पूजामा उपस्थित भक्तजनहरुलाई मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेद्वारा आशिर्वाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्