Logo

नेकपामा प्रचण्डको नीति र रणनीति हावी



समाचार विश्लेषण, १६ माघ । नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीति र रणनीति दुवै हावी हुँदै गएको छ । जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार गरेर प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डकै नीति हावी देखिएको हो ।

अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनमा तत्कालिन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो भनिएको छ । जनताको जनवाद मूलत प्रचण्डले अगाडि सारेको कार्यक्रम हो । तत्कालिन नेकपा एमालेले जनताको जनवादको साटो जनताको बहुदलीय जनवादलाई कार्यक्रमका रुपमा सारेको थियो । तत्कालिन नेकपा माओवादीले जनवादलाई प्राथमिकतामा राख्दै आएका थिए । राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रम हो भनिएको छैन ।

नेकपाले पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादको दर्शन भनेको छ । माओवादलाई भने परित्याग गरिएको छ जुन तत्कालिन नेकपा माओवादीले मार्ग दर्शक सिद्धान्तमा माक्र्सवाद लेनिनवादसहित माओवादलाई पनि समावेश गरेको थियो ।

मदन भण्डारीको योगदानलाई राजनीतिक प्रतिवेदनमा समावेश गरिएपनि उनले प्रतिपादन गरेको नीति तथा मार्गनिर्देशलाई भने खासै प्राथमिकतामा राखिएको छैन । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जबजको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदान बारे राजनैतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिनुपर्दछ ।’ राजनीतिक प्रतिवेदनमा नेकपा संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीय रहेको भनिएको छ ।

राजनीतिक प्रतिवेदनलाई विश्लेषण गर्दा प्रचण्डको नीति र रणनीति दुवै हावी छ । विगत डेढ दशकयता देश प्रचण्डकै नीति तथा रणनीतिमा बढिरहेकाले नेकपाको नीतिमा पनि प्रचण्डकै नीति हावी हुनुलाई आश्चर्य मान्न नहुने विश्लेषण भइरहेको छ । गणतन्त्र देखि संघीय राज्य प्रणाली प्रचण्डकै नीति हो ।-Photo: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्