Logo

एनआरटीसँग ब्रिगेड ब्वाइज क्लब पराजित, राजेश चम्किए



काठमाडौं, १६ माघ । काठमाडौंमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा एनआरटीले २–० गोलको अन्तरले ब्रिगेड ब्याईजलाई पराजित गरेको हो ।

एनआरटीको जितमा वैकल्पिक खेलाडी राजेश परियार नायक बने । एनआरटीको जितमा दुवै गोल राजेशले गरे । राजेश २२ औं मिनेटमा क्रिषण कुमारको स्थानमा मैदान छिरेका थिए । मैदान छिरेको १० मिनेट नबित्दै ३२ औं मिनेटमा राजेशले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।   मैदानको दायाँ भागबाट दर्शन गुरुङले उपलब्ध गराएको पासलाई डिबक्स भित्र रहेका राजेशले सदुपयोग गर्दै गोल गरे । खेलको ५२ औं मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमा गोल फर्काउने मौका पायो । तर, ब्रिगेडका कप्तान अनिल गुरुङ पेनाल्टीमा गोल गर्न चुके । अनिलको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोकिदिए ।

आजको जितसँगै एनआरटी लिगको चौंथो स्थानमा उक्लिएको छ । एनआरटीले ९ खेलमा १५ अंक जोडेको छ । ब्रिगेड ९ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्