Logo

सूर्योदयको उदाहरणीय पहल



काठमाडौँ, १७ माघ । सूर्योदय नगरपालिका–१२ की एक महिलाले मेयरसहितका जनप्रतिनिधि सहभागी ‘गुनासो चौतारी’ कार्यक्रममा बिहे गरेर आएपछि आफूले उच्च शिक्षा लिन नसकेको गुनासो पोखिन्।

उच्च शिक्षाका लागि स्थानीय सरकारी क्याम्पसमा महँगो शुल्क तिर्नुपर्ने भएकाले पनि आफूले पढ्न नसकेको उनले सुनाइन्। महिलाको गुनासो सुनिसकेपछि मेयर रणबहादुर राईले ‘कुनै न कुनै रूपमा समस्या समाधान गरिदिने’ आश्वासन दिए र त्यहाँबाट फर्किए। ती महिलाको गुनासोबारे नगरको कार्यपालिका बैठकमा छलफल चल्यो। नगरसभामै छलफल भयो। अनि नगरले नयाँ नीति नै ल्यायो– ‘सूर्योदय नगरको इच्छा, बुहारीलाई शिक्षा।’ सूर्योदय नगरपालिकामा बिहे गरेर आउने महिलाले गतवर्षदेखि नगरको कार्यक्रमअनुसार स्थानीय करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क पाउन थाले। गत वर्ष ४० बुहारीले छात्रवृत्ति पाएकामा यो वर्ष ८० जनाले अध्ययन गरिरहेका छन्। नगरपालिकाका अनुसार गत वर्ष बुहारी शिक्षाका लागि १० लाख रुपैयाँ खर्च भयो, यो वर्ष १६ लाख हुने भएको छ। ‘यो सालचाहिँ बुहारीको मात्रै कोटा नपुगेकाले स्थानीय गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृत्ति दिएका छौं,’ मेयर राईले भने, ‘१ महिलाले १ मिनेटमा राखेको गुनासो अहिले नगरको नितान्त नयाँ कार्यक्रम भएको छ, निकै प्रभावकारी पनि।’

गतवर्षकै ‘गुनासो चौतारी’ मा वडा नं. ४ की एकल महिलाले आफ्नो आर्थिक अवस्था ज्यादै दयनीय भएको र स्वास्थ्योपचारमा हुने खर्च धान्न नसकेको गुनासो राखिन्। उनले उपचार खर्च अभावले ज्यान जाने अवस्था आउन लागे पनि कसैले ध्यान नदिएको दुखेसो पटकपटक गरिन्। उनको गुनासो सुनेर नगरपालिका फर्की मेयर राईले एकल विधवा महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रम पारित गराए। त्यही कार्यक्रमअनुसार १ सय ४४ एकल विधवा महिलाको स्वास्थ्य बिमा गरिदिने लक्ष्य रहेकामा १ सय १४ महिलाको भएको छ। नगरले प्रत्येक महिलाको ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराइरहेको छ। नगर नीतिको स्रोत नागरिक गुनासो, टोलटोल पुग्दा सर्वसाधारणले राखेको गुनासो सूर्योदय नगरका जनप्रतिनिधिलाई हरेक वर्ष नयाँ नीति तथा कार्यक्रम ल्याउने स्रोत बनिरहेको छ।

नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्