Logo

निगमले तिर्‍यो वाइड बडीको किस्ता



काठमाडौं, माघ १८ । लामो समयसम्म ऋणको सावाँब्याज तिर्न नसकेर आलोचना खेप्दै आएको नेपाल वायुसेवा निगमले एक अर्ब एक करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ किस्ता बुझाएको छ। निगमले कर्जा लिएको कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई कात्तिकदेखि पुस मसान्तसम्मको किस्ता भुक्तानी गरेको हो।

वित्तीय विभागका निर्देशक उमेश पौडेलका अनुसार निगमले वाइडबडी तथा न्यारोबडी खरिदका क्रममा कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषसँग लिएको ऋणबापतको पछिल्लो किस्ताको रकम तिरेको छ। ‘निगमले हरेक तीन–तीन महिनामा किस्ता तिर्ने सहमति रहेको छ,’ उनले भने, ‘असोजसम्मको ऋण पुँजीकृत हुँदै लोनमा गाभिने प्रक्रियामा गएको छ भने असोजपछिको पुसमा तिर्नुपर्ने किस्ता बुझाइएको हो।’

पुँजीकृत लोनको अन्तिम निर्णय भने अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको उनको भनाइ छ। निगमले दुईओटा वाइडबडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय ७० रुपैयाँ र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी जम्मा एक अर्ब एक करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ भुक्तानी गरेको उनले जानकारी दिए। निगमले वाइड बडी विमान खरिदका लागि सरकारको जमानीमा २०७४ जेठ अन्तिम साता नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँका दरले २४ अर्ब ऋण लिएको थियो।

उचित गन्तव्यमा उडान भर्न नसकेको भन्दै आलोचना भोगिरहेको निगमको हालको घाटा रकम ३७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। हाल निगमसँग भएका वाइड बडी, न्यारो बडीसहित आन्तरिकतर्फका सबै विमान उडाउन नसक्दा दैनिक करोडौं रुपैयाँ घाटा व्यहोर्दैे आएको निगमकै कर्मचारी बताउँछन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्