Logo

एमसीसी पास हुन्छ- टोपबहादुर रायमाझी



काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता टोपबहादुर रायमाझी नेकपाको जारी केन्द्रीय कमिटि बैठकबाट एमसीसी पारित हुनेमा ढुक्क छन् । उनले एमसीसी लागू गर्ने विषयमा कुनै दुविदा नभएको बताएका छन् । रायमाझीसम्म ऋषि धमलाले गरेको कुराकानीः
एमसीसी कहिले पारित हुन्छ ?
केन्द्रीय समितिको बैठक विस्तारै अगाडि बढिरहेको छ । यो बैठक दुई दिनभित्र सम्पन्न हुन्छ । यस बैठकमा एमसीसीलाई नेपालको विकास र प्रगतिमा लगानी गर्नुहुँदैन भन्ने खासै कसैको विमति छैन । तर, पछिल्लो समय जसरी त्यसमा सर्तहरु आएको छ, त्यो नेपालको हितमा छ कि छैन भन्ने विषयमा चर्चा भएको मात्रै हो, पारित गर्नुहुँदैन भनेर होइन ।
त्यसोभए संसदबाट पारित हुन्छ कि हुँदैन ?
त्यो अब केन्द्रीय समितिको बैठकमा गएको छ । त्यहाँ छलफल र बहसहरु पनि भइरहेको छ । त्यसपछि टुंगो लाग्छ ।
केन्द्रीय कमिटिमा पेश हुने राजनीतिक प्रतिवेदनमा त त्यसको एजेन्डा नै थिएन नि कसरी छलफल भयो ?
केन्द्रीय कमिटिमा उठाउन एजेन्डै हुनुपर्छ भन्ने छैन । त्यसैले एमसीसीको विषयमा व्यापक रुपमा छलफल, बहसहरु भएका छन् । त्यो छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको छ । नेपालको हितमा छ कि छैन भनेर रहेको दुविधालाई हल गरेर एमसीसी प्रयोग गर्न सकिन्छ । सर्तको बारेमा क्लियर भइसकेपछि यो पास हुने ढंगले अगाडि बढिरहेको छ ।
सर्तहरु तपाईंहरुलाई थाहा छैन र बाहिर त आइसेकेको छ नि ?
आएका छन्, त्यसलाई अध्ययन गरेर निष्कर्षमा पार्टी पुग्छ ।
त्यसोभए एमसीसीलाई पास निर्णय केन्द्रीय समितिबाट हुन्छ ?
निर्णय हुनेनहुने भन्दा पनि राम्रोसँग अध्ययन गरेर, त्यसका सर्तहरु राम्रो केलाएर सच्याएर भएपनि त्यसलाई पास गर्नुपर्छ । तर नेपालको हितमा छ कि छैन भनेर शंका गर्नुलाई अस्वाभाविक मान्न सकिन्न ।
केन्द्रीय समिटिमा एमसीसीको बारेमा कुनै निर्णय हुँदैन ?
एमसीसी पास गर्ने कि नगर्ने भन्ने टेक्निकल विषय भयो । त्यसको लागि विशेषज्ञहरु राखेर छलफलबाट के गर्ने भन्ने निष्कर्ष हुन्छ ।
त्यसोभए आयोग बन्छ विज्ञहरु राख्न ?
पार्टीले आयोग बनाउनेतिर निर्णय नगरेकाले के बन्छ म त्यतातिर जान जान्न ।
नेताहरुको भनाई त बाहिर आइसकेको छ नि ?
यसलाई गहन रुपमा अनुसन्धान गरेर निष्कर्षमा पुग्ने काम हुन्छ ।
सरकारले यो राम्रो कामको लागि आएको भनेपछि तपाईंहरुलाई किन टाउको दुखाई त ?
सरकारले त धेरै पहिलादेखि राम्रो काम हो, भनिराखेको छ । पहिलाको परराष्ट्रमन्त्री, नेताहरुले पनि निर्णय गर्दै आएका हुन् । तर, अहिले त्योमार्पmत उर्जा र सडकका क्षेत्रमा गर्ने भनिएको लगानीमा जुन सर्तहरु छन्, सच्याएर अगाडि बढ्नुपर्छ भन्नेतिर बैठकमा कुराहरु उठिरहेका छन् ।
तपाईं पहिला त एमसीसी पारित गर्नुपर्छ भन्नुहुन्थ्यो, अहिले त बीचमा बस्नुभयो नि ?
एमसीसी यही स्थितिमा पारित गर्नुपर्छ भनेर मैले कहीं पनि भनेको छैन । फेरि अहिले त्यसको विवाद आएको छ नि । सर्तहरु तेर्सिए भनेर जसरी कुराहरु उठिरहेका छन् । त्यसको निराकरण गरेर मात्रै अगाडि ल्याउनुपर्छ । त्यसमा विवाद देखिएका विषयमा क्लियर भएर मात्रै लागुगर्नुपर्छ । यसलाई लागु गर्नै हुँदैन भन्ने पक्षमा कोही पनि छैनन् ।
५५ अर्बको अनुदान नेपालले नलिने ?
यसमा पैसा ठूलो कुरा होइन ऋषिजी ।
देशविकास गर्न अनुदान चाहिएन ?
विकास गर्ने कुरामा दुविदा छैन । करम ५५ अर्ब होस् कि ५५ खर्ब होस् पैसा ठूलो कुरा होइन । मूख्य कुरा एमसीसी नेपाल र नेपाली जनताको हितमा छ कि छैन त्यो ठूलो कुरा हो । जुन शंका उब्जिएको त्यसलाई क्लियर गरेपछि कसैको दुविदा रहँदैन ।
अन्य विषयमा केन्द्रीय समितिमा कसरी छलफल भइरहेको छ त ?
लोमो समयपछि बसेको केन्द्री समिति भएकाले महाधिवेशनको झल्को आउनेगरी बहस, छलफलहरु भएका छन् । पार्टी एकीकरणको सबै काम सम्पन्न नभएका कारणले दुई पार्टी दुई धारहरु, दुई प्रकारका संस्कार, संस्कृति, विधि, विधान भएको पार्टी भएकाले त्यसलाई निष्कर्षमा पु¥याउनु धेरै महत्वपूर्ण काम हो । यो बैठकमा जे–जसरी प्रश्नहरु उठेका छन्, त्यसले केन्द्रीय महाधिवेशनको झल्को दिएको छ । धेरै महत्वपूर्ण कुराहरु उठेका छन् ।
नेताहरु सुविधाभोगी भए भन्ने गुनासाहरु पनि धेरै आए नि ?
हर पार्टीमा यस्तो विषयहरु उठ्ने कुरालाई हामीले अस्वाभाविक ठान्नु हुँदैन । जसरी बैठकमा यी कुराहरु उठेका छन्, त्यसलाई मैले त सकारात्मक रुपमा लिनुपर्छ भनेको छु । त्यहाँ चाहे पार्टीको होस्, चाहे सरकारका कामकारबाहीका कुरा हुन् या भ्रष्टाचारका कुरा हुन् त्यसलाई महत्वपूर्ण ठान्नुपर्छ । यसलाई पार्टी एकीकरण पछिको आगामी महाधिवेशनमा जाने संक्रमणकालीन बैठकको रुपमा हामीले लिनुपर्छ । अहिले जे–जसरी केन्द्रीय कमिटिमा कुरा उठेका छन्, त्यसलाई महाधिवेशनमा गएर टुंग्याउनुपर्छ ।
नेकपाको महाधिवेशन हुन्छ ?
महाधिवेशन त गर्नैपर्छ, त्यसको विकल्पै छैन ।
पार्टीभित्र नीति र नेतृत्वमा विवाद छ नि ?
ती कुरा स्वाभाविक हुन् । त्यस्ता कुराहरु उठ्छन् त्यसलाई अन्यथा ठान्नुहुँदैन । व्यापक छलफल गरेर महाधिवेशनमा गएर टुंग्याउनुपर्छ ।
प्रचण्ड कार्यकारी अध्यक्ष भइसकेपछि पार्टीमा कमीकमजोरी देखिएको छ ?
खासै कमीकमजोरी देखिएको छैन । क्रमिक रुपमा सुधारिँदै अगाडि बढिरहेको छ । त्यसलाई अब अलि तीब्र रुपले अगाडि बढाउनुपर्छ ।
प्रधानमन्त्रीले त नेताहरुले सरकारको विरोध गरेर नकारात्मक सन्देश प्रवाह गरे भन्नुभयो नि ?
प्रधानमन्त्रीले आफ्नो ठाउँमा मेहनत गरिरहनुभएको होला त्यसैले उहाँलाई त्यस्तो लाग्नु स्वाभाविक छ । पार्टी र सरकारले ध्यानदिन नसकेका जुन तलबाट उठिरहेका कुरा छन् । त्यसमा सरकारले ध्यान दिनुपर्छ । कमीकमजोरीका बारेमा तलबाट केही कुरा आएर नै सरकारलाई कहाँनेर कमी भएर भनेर बुझ्ने ठाउँ हुन्छ, त्यसैले नै पार्टीलाई गति दिन्छ ।



प्रतिक्रिया दिनुहोस्