जहाजमा साँङ्ला आए, गाडी चढेर लामखुट्टे पहाड उक्ले


काठमाडौं, १९ माघ । अमेरिकाबाट नेपाल साँङ्लो आँउछ भने, तराईबाट गोमन सर्प काठमाडौं आउनु कुन नौलो बिषय हो र ? त्यसो त बस चढेर तराईका लामखुट्टे पहाड चढेका छन्’ पर्यावरणविद् तथा जीवशास्त्री डा. मु्केश चालिसे तराइका जीवजन्तु पहाड चढ्नु नियमित प्रक्रिया रहेको बताएका छन् ।

२०६५ सालमा राष्ट्रपति कार्यालयमा उड्ने साँङ्लोले हैरानी बनाएपछि जीवविज्ञहरुबीच खैलाबैला मच्चियो । त्यसपछि साँङ्लो बिषयमा सोध अनुसन्धान परामर्श भए । डा. चालिसेका अनुसार त्यतीबेला राष्ट्रपति कार्यालयमा भेटिएको साँङ्लो अमेरिकाबाट एसियाहुँदै दक्षिण एशियाली देशहरूमा भित्रिएको रहेछ । त्यसपछि सो साँङ्लोको नामनै पेरिप्लानेटा अमेरिकाना रहेको पुष्टि भयो । नेपालमा पाइने रैथाने साँङ्लोभन्दा ठूलो र उड्न सक्ने क्षमता भएको पाइयो । डा.चालिसेले भने, ‘यो साँङ्लोले विभिन्न खालका संक्रमण गराउँछ, त्यसैले यो नेपालमा पाइनेभन्दा घातक मानिन्छ ।’ पहाडी जिल्लामा सडक संञ्जाल पुगेसँगै तराइमा पाइने लामखुट्टे गाडी चढेर नेपालका पहाडी जिल्लामा पुगेको डा. चालिसे बताएका छन् ।

मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराइ तथा तराइका क्षेत्रमा पाउने जनावर हिमाली क्षेत्रमा उक्लिनुको पछाडि जंगली करिडोरको विकास प्रमुख कारण रहेको हुनसक्ने वनस्पतीविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ बताएका छन् । ‘ठूला जीवजन्तु बाह्रै महिना एक ठाउँबाट अर्कोमा स्थानान्तरण हुने भए पनि साना जीवजन्तु चाहीँ मौसम अनुकुल स्थायी बसाइ सर्ने गरेका छन्’ डा. श्रेष्ठले बताएका छन् ।  काठमाडौं उपत्यकाका थानकोट, साँगाभज्याङ, फर्पिङ र नार्गाजुन उष्ण क्षेत्र हुन् । सितोष्ण तराइमा पाउने सिमल उपत्यका आसपास पाउन थालिएपछि लामो समयदेखि लाङटाङ राष्ट्रिय निकुञ्जमा वनस्पति र जनावरहरुको अध्ययनमै क्रियाशील डा. चालिसेले त्यसको बारेमा खोजी सुरु गरेको छ । ‘काठमाडौं उपत्यकामा कसरी सिमलका रुख भित्रिए’ त्यसबारे अध्ययन हुन जरुरी छ डा. चालिसेले बताए । ‘तराइबाट त्रिशुली उपत्यकाहुँदै खानीखोला नौबिसेबाट सरेर काठमाडौं उपत्यका आसपासमा सिमल आएको हुन सक्ने एउटा आधार हुन सक्छ’ डा.चालिसेले बताएका छन् ।
गोरखापत्र दैनिकबाट