Logo

गहुँ फल्ने खेतमा मकै



काठमाडौँ, १९ माघ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ का किसान सदरुन आलमले गहुँ खेती गर्दा खासै फाइदा लिन सक्नुभएको थिएन । जब उनले गहुँ लगाउने खेतमा मकै लगाउन थाले अनि उनको आर्थिक अवस्थामा सुधार आउन थाल्यो ।

उनले आफ्नो अनुभव सुनाउँदै भने, सुरुका दिनमा गहुँबाहेक अरू बाली लगाउने आँट आएन । गाउँघरमा केहीले गहुँ छाडेर मकै लगाएको देखेर मैले पनि सुरु गरे । अहिले मन प्रशन्न बनाएको छ मकै बालीले । उनका अनुसार आफ्नो सानो खेतबारीमा डराइडराई मकै लगाएको सालमै राम्रो आम्दानी लिन सकियो अनि त उनले सबै बारीमा मकै मात्र लगाउन थाले । उनी मात्र होइन, अचेल भोक्राहा नरसिंह गाउँपालिकाका किसान सिँचाइको अभावका बीचमा समेत मकै खेती गरिरहेका छन् । सिँचाइ अभाव र धान खेतीको उत्पादनमा कमी भएकाले किसान गहुँ खेती नगरीकन मकै खेती गर्नतर्फ आकर्षित भएका हुन् । सदरुल भने, गहुँमा एक कट्ठाका लागि एक हजार रुपियाँ लगानी गर्दा एक हजार दुई सय रुपियाँको समेत गहुँ उत्पादन लिन सकिएन । अहिले मकैमा प्रतिकट्ठा दुई हजार रुपियाँको मल, सिँचाइ र बीउमा लगानी गर्दा १० हजार रुपियाँसम्म आम्दानी हुन्छ । उनले मकै खेतीबाट प्रतिबिघा एक लाख २० हजार रुपियाँ एक मौसममा आम्दानी गरिरहेको बताए ।

आमलजस्तै अर्का किसान नरसिंहका अमना खातुनले समेत दुई वर्षदेखि गहुँ खेती छाडेर मकै बाली लगाउन थालेको छ । उनले पनि गहुँभन्दा मकैमा राम्रो आम्दानी हुने भएकाले मकै थालेको हो । त्यसैगरी सुनसरी सदरमुकाम इनरुवा आसपास क्षेत्रका किसान गहुँको खेतीबाट आम्दानी र उत्पादनमा कमी आउन थालेपछि मकै खेती गर्नतर्फ आकर्षित भएका हुन् ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्