Logo

पर्यटकमा अर्नाको आकर्षण बढ्दै



काठमाडौँ, १९ माघ । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघ, घडीयाल गोहीका लागि प्रख्याती कमाएको चितवन राष्ट्रिय निकुञ्ज केही समययता अर्नाले समेत पर्यटक आकर्षित गर्न थालेको छ । निकुञ्जमा तीन वर्ष अगाडि भित्र्याइएका अर्नाले पाडापाडी जन्माउन थालेपछि अर्नाले समेत पर्यटक आकर्षित गर्न थालेको हो । कोसी टप्पु आरक्षण र सदर चिडियाखानाबाट ल्याइएका अर्नालाई निकुञ्जको पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलको बारबन्देजभित्र राखिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार केही समययता अर्ना निकुञ्जको नयाँ प्रोडक्ट जस्तै बनेको छ । यसले पनि बाघ, गैँडा, घडीयाल, गौरीगाई जस्तै पर्यटकलाई आकर्षित गर्न थालेको छ । अर्नाको अवलोकन गर्न विदेशी पर्यटक पैदल ९जङ्गल वाकिङ०मार्फत जाने गरेका छन् । वर्षाले पदमपुर क्षेत्रमा जाने घोलको कल्भर्ट बगाएका कारण गाडीबाट जाने मार्ग अवरोध भएको छ । उहाँले उक्त मार्ग एक डेढ महिनामा तयार हुने बताएका छन् । निकुञ्ज घोषणापूर्व अर्नाको बाक्लै उपस्थिति रहेको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय अर्ना थिएनन् । त्यसैले २०७३ माघमा कोसी टप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन गरी १५ अर्ना ल्याएर पदमपुर क्षेत्रमा ३० हेक्टर तारबार क्षेत्रभित्र राखिएको थियो । सुरुआतको समयमा केही अर्ना कालगतिले मरेका थिए भने केही बाघको आक्रमणमा परेको र केहीलाई बाढीले बगाएर नौवटाको सङ्ख्यामा झरेको थियो तर पछिल्लो समयमा अर्नाको सङ्ख्यामा वृद्धि भएको छ ।

हाल तीन बच्चासहित १२ अर्ना छन् भने केही गर्भिणी भएको अनुमान गरिएको छ । अर्नाको सङ्ख्या वृद्धिले निकुञ्ज अधिकारीहरूमा आशा जगाएको छ । प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अर्नाको सङ्ख्यामा आएको वृद्धिले उत्साहित बनाएको स्वीकार गर्दै अर्ना संरक्षणको कार्य सफल भएको बताए । उनले सरक्षण कार्य सफल भएकाले अर्ना संरक्षणको लागि बनाइएको संरचनाको क्षेत्रफल वृद्धि गर्न बाटो खुलेको बताए ।  निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले यसै महिनादेखि विस्तारको काम सुरु गरी ३० हेक्टर क्षेत्रफललाई ४५ हेक्टर पु¥याइने जानकारी दिए । अर्नाको बढ्दो सङ्ख्यालाई दृष्टिगत गर्दै क्षेत्रफल विस्तार र स्तरोन्नति गर्न आवश्यक रहेको उनको भनाइ छ । चितवन निकुञ्जमा ६९ प्रजातिका स्तनधारी, ५७६ प्रजातिका चरा, १२० प्रजातिका माछा, १५० प्रजातिका पुतली, उभयचर र सरीसृप गरी ४९ प्रजाति र ५७० भन्दा बढी प्रजातिका वनस्पति पाइन्छन् ।

२०३० सालमा घोषणा भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । गैँडाको प्रजाति संरक्षण गर्ने उद्देश्यले स्थापना भएको निकुञ्ज १० वर्षपछि पारिस्थितिकीय प्रणाली अर्थात् एकीकृत संरक्षण र विकासको अवधारणा अनुसार सञ्चालन भएको बताइन्छ । चितवन राष्ट्रिय निकुञ्ज १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको निकुञ्ज हो । यही निकुञ्जको कारण चितवन जिल्ला नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा
रहेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्