Logo

काम नगर्ने ठेकेदारलाई कारबाही– ठेक्का तोडियो, जरिवाना तोकियो



काठमाडौँ, १९ माघ । तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा २० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको जेजेइसिसिएल–पप्पु–कोसी एन्ड न्यौपाने जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका प्रमुख मोहदत्त भट्टका अनुसार सन् २०२३ सम्ममा प्रदेश ५ का १६ जिल्लाका २७ वटा सडक गरी तीन सय ८८ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य उक्त आयोजनाको छ । त्यसअन्तर्गत पूर्वी रोल्पाको सुलीचौर हुँदै गाम जोड्ने सडकखण्डको सेवारदेखि स्युरीसम्मको उक्त सडक एसियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत ऋण र सरकारको २० प्रतिशत लगानीमा कालोपत्रै हुँदैछ । आगामी वैशाख ७ गतेभित्र कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता गरेको उक्त निर्माण कम्पनीले १५ प्रतिशतजति काम पनि नगरेपछि यही माघ ११ गते विधिवत् रूपमा सम्झौता तोडिएको हो । ३० मार्च २०१८ मा निर्माण सम्झौता भएको सो सडक निर्माणपछि पनि तीन वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नेगरी जिम्मा दिइएको थियो ।

ठेक्का तोडिएसँगै अब निर्माण कम्पनीले सरकारलाई करिब नौ करोडभन्दा बढी जरिवानासमेत तिर्नुपर्ने जनाइएको छ । सडक कार्यालयका अनुसार ६ करोड २५ लाखबराबरको काम गरेको उक्त कम्पनीले चार करोड ९९ लाख ७ हजार ६५ रुपैयाँ ४२ पैसा भुक्तानी लगेको छ । ‘नियमसंगत तरिकाले सम्झौताअनुसारको गतिमा काम नगरेपछि ठेक्का तोडिएको हो,’ आयोजना प्रमुख भट्टले भने, ‘कार्यतालिकाअनुसार काम भएन । पत्राचार गर्दा पनि नटेरेपछि कम्पनीलाई जरिवानासहित कामबाट हटाउनुपरेको हो ।’ भट्टका अनुसार पाँच दशमलव २५ मिटर चौडाइ, एक मिटर नाला, तीन दशमलव ७५ मिटर पक्की गरिने भनिएको सो सडकको कालोपत्रेलाई आस्फाल्ट कंक्रिट भनिन्छ । ‘यो स्तरीय पिच हो तर काम नै नगरेपछि एडिबीसँगको छलफल र कम्पनीको कार्यशैली विश्लेषण गर्दै निर्माणको जिम्मा तोड्न बाध्य भएका हौं,’ उनले भने, ‘अब निकट भविष्यमा यो सडक निर्माणका लागि नयाँ टेन्डर प्रक्रिया अगाडि बढाइनेछ ।’
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्