Logo

नोवल कोरोना संक्रमण : चीनबाट ल्याएपछि १४ दिन निगरानीमा



काठमाडौँ, २१ माघ । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलबार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निमोनिया गराउने नोवल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबभन्दा जोखिम रहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ । मन्त्रालयका अनुसार वुहानबाट ६२ सहित हुवेई प्रान्तका अन्य मुख्य सहरबाट समेत गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो। ‘मंगलबार बेलुकासम्म क्वारेन्टाइन स्थल निर्धारण गरिसक्ने छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘चीनबाट आफ्ना नागरिक फिर्तापछि अन्य मुलुकले जस्तै हामीले पनि फर्काइएकालाई क्वारेन्टाइनमै राख्नुपर्छ ।’

आइसोलेसन (पृथकीकरण) र क्‍वारेन्टाइन भनेको संक्रामक रोगको विस्तार कम गर्न जनस्वास्थ्यअन्तर्गत अपनाइने प्रक्रिया हो । यसमा संक्रामक रोग भएकालाई स्वस्थ व्यक्तिको सम्पर्कभन्दा अलग राखेर सुरक्षा उपकरणले सुसज्जित विशेषज्ञबाट उपचार गरिन्छ । सर्ने रोगको सम्पर्कमा आएका स्वस्थ व्यक्तिलाई पनि यहाँ छुट्टै राखेर अन्य व्यक्तिसँग हिमचिम हुन दिइँदैन । उनीहरू बिरामी परे–नपरेको जान्न परीक्षण गरिनेछ ।भारतले चीनबाट फिर्ता गरेका तीन सय जनालाई सेनाको निगरानीमा १४ दिनसम्मका लागि क्याम्पमा राखेको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम