Logo

राष्ट्रपति कार्यालयमा ५ रुपैयाँमा किचेन र्‍याक, १० रुपैयाँमा प्रेस कुकर



काठमाडौं, माघ २१ । भान्सामा प्रयोग हुने एउटा किचेन र्‍याक वा १० लिटर क्षमताको प्रेसर कुकरको कति रुपैयाँ पर्छ होला रु अनुमान गरौं। त्यस्तै एउटा ओड्ने ठूलो छातालाई कति पर्ला रु तर हामीले अनुमान गरेको भने नमिल्न सक्छ।

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसहित ७ वटा अति विशिष्ट व्यक्तिको निवासमा कोटेश्वरस्थित कुशल इन्टरप्राइजेजले १० लिटरको प्रेसर कुकर ५ रुपैयाँमा उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। तर उसले ५ लिटरको राइस कुकुर भने ५ हजार रुपैयाँमा बिक्री गर्छ।

जब कि बजारमा सामान्यतया यस्तो कुकरलाई ४ हजार रुपैयाँभन्दा बढी पर्दैन। महाबौद्धमा व्यावसाय गर्दै आएका स्याङ्जाका श्याम थापाले ४ हजार रुपैयाँसम्ममा ५ लिटरको राइस कुकर पाइने दाबी गरे। यसैगरी पञ्चिङ मेसिनको २ रुपैयाँ मात्र भनिएको भए पनि लेजर टेपको भने प्रतिइकाइ ६ हजार रुपैयाँ तोकिएको छ।

सो इन्टरप्राइजेजले ७ उच्च व्यक्तिको निवास तथा कार्यालयमा पाइलट पेन प्रतिइकाइ २ सय रुपैयाँको दरले बेच्ने गर्छ तर भक्तपुर लोकन्थलीमा व्यवसाय गर्दै आएका रामहरि पाठकले भने उच्च गुणस्तरको पाइलट पेनको ८० देखि १ सय सम्ममा बेच्ने गरेको सुनाए। यता ६० रुपैयाँमा पाइने स्टाप्लर मेसिनलाई यसले १ सय रुपैयाा मूल्य तोकेको छ।

कम्प्युटरका लागि प्रयोग हुने माउस प्याड प्रतिइकाइ ५ रुपैयाँ राखेको छ तर २१ इञ्चको डेस्टप कम्प्युटरलाई ५४ हजार प्रतिइकाइ मूल्य राखेको छ। सम्झौतापत्रमा यस वर्ष इन्टरप्राइजेजले ७ उच्च पदस्थ कार्यालयमा १० वटा डेस्कटप कम्प्युटर तथा ६ वटा ल्यापटप उलब्ध गराउने जनाएको छ। ल्यापटपको मूल्य ६८ हजार रुपैयाँ प्रतिइकाइ राखिएको छ।

इन्टर प्राइजेजले ५ रुपैयाँमा किचेन र्‍याक, ५ रुपैयाँमा १० लिटरको प्रेसर कुकर, ५ रुपैयाँमा ठूलो छाता, ५ रुपैयाँमा इलेक्टिक जगलगायतका सामान उपलब्ध गराउने जनाएको छ।

गत वर्ष भिभिआइपी कार्यालयमा एउटा टाबेलको मूल्य ५ रुपैयाँ राखिएको थियो तर यस वर्ष उस्तै गुणस्तरको टाबेलको मूल्य १ हजार २ सय ५० रुपैयाँ राखिएको छ। उक्त कम्पनीले आर्थिक वर्ष २०७६र७७ का लागि १ सय ७७ वटा फरकफरक सामान उपलब्ध गराउने सम्झौता संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग गरेको छ।

संघीय सचिवालयले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष प्रधानन्यायधीश तथा पुल्चोकस्थित मन्त्री निवासका लागि आवश्यक पर्ने सबै सामान उपलब्ध गराउँदै आएको छ। यसका लागि सचिवालयले हरेक वर्ष टेन्डर आह्वान गर्ने गर्छ।

यस वर्ष सचिवालयले आह्वन गरेको टेन्डरमा कुशल इन्टरप्राइजेजले पारेको छ। सचिवालयका प्रमुख रवीन्द्र बोहराले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार सबभन्दा कम मूल्यमा प्रस्ताव गर्ने कम्पनीसँग टेन्डर सम्झौता गरेको बताए। उनले भने, ‘कानुनअनुसार सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीसँग हामीले सम्झौता गरेका हौं।’नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्