काठमाडौँ, २१ माघ । केही वर्षअघिसम्म घरमा थोरै थोरै मात्र सुन्तला बेचेको अनुभव सुनाउने सिस्ने गाउँपालिका–४ लाम्बाकोटकी ममता बुढाले यो वर्ष फले जति सबै सुन्तला बेच्न पाएको सुनाइन्। रुकुमकोट बजारमा बिहानै सुन्तला बेच्न १२ जना बसेका थिए। एकै गाउँका उनीहरू हरेक बिहान सुन्तला बेच्न ल्याउने र दिउँसो फर्किने गरेको अनुभव सुनाउँथे। ‘सडक आएपछि बजार बढ्यो, यहाँ बोकेर ल्याउँदा बढी दाम पाउने भएकाले ल्याएका हौं,’ बुढाले भनिन्, ‘अहिले त तरकारी पनि बिक्छ।’ सँगै रहेकी हिरा बुढाले थपिन्, ‘पहिला कहाँ यसरी बिक्थ्यो र !’
उनीहरू झै पुष्पलाल (मध्यपहाडी) लोक मार्गको सडक बनेसँगै पहाडी जिल्लाका विभिन्न ग्रामीण ठाउँमा सहरीकरण हुँदै गरेको देख्न पाइन्छ। पुराना बजार सहरमा परिणत हुँदै गएका छन् भने नयाँनयाँ बजार, चोक निर्माण हुन थालेका छन्। गाउँका बासिन्दा सडकछेउ उक्लिन थालेका छन्। सडकले छोएका क्षेत्रमा नयाँ घर बनिरहेका देख्न पाइन्छ भने जग्गाको भाउ बढ्दै गएको छ। अचेल फलाउन सके बिक्छ भन्ने धारणा विभिन्न क्षेत्रका बासिन्दाको छ। लोकमार्गसँग जोडिएका ग्रामीण क्षेत्रमा बजार बन्ने क्रम बढेको छ। सरकारले मध्यपहाडी क्षेत्रका १० वटा सहरलाई नयाँ सहर बनाउने अवधारणा अघि सारी सानातिना काम गरिरहेको छ। तर, सरकारको प्राथमिकतामा नपरेका विभिन्न ठाउँहरूमा साना बजार स्थापना हुने तथा पुराना बजार विस्तार हुने क्रममा छन्। तेह्रथुमको आठराई राजनीतिक, शैक्षिक हिसाबले चर्चित छ। तर, यो क्षेत्रले सडक पाउन मध्यपहाडी नै आउनुपर्छ। मध्यपहाडी लोकमार्गको सडक र तमोरमा पुल बनेपछि यस क्षेत्रको काया बदलिएको अनुभव यहाँका बासिन्दाको छ। अठराईको बरबोटेका नारायण इङ्नाम भन्छन्, ‘लोकमार्गले आठराईलाई जीवन दिएको छ। सुविधा थपिएको छ। विद्यालय र स्वास्थ्य केन्द्र नजिक भएका ठाउँमा बसाइँ सरेर आउने गरेका छन्। पहिले तराई र सहर बसाइँ सर्ने चलन थियो। अचेल गाँउमै सडकछेउ आउने क्रम बढेको छ। नयाँ घर थपिएका छन्।’
पहिले तराई र सहरतिर बसाइँ सर्ने चलन थियो। अहिले विद्यालय र स्वास्थ्य केन्द्र नजिक भएका ठाउँमा बसाइँ सरेर आउने क्रम बढेको छ। इङ्नामले भने झैं सडक आसपासमा घर बनाउने क्रम बढेको छ। खाजा, खाना मिल्नेदेखि बस्नेसम्मका होटल, नयाँ सुविधासँगै विस्तार हुन थालेको छ। लोकमार्गलाई आधार बनाएर गाउँ जाने सडक सञ्जाल बनेका छन्। पुराना घर विस्तापित हुँदै गएका छन्। २० लाख रुपैयाँ खर्चेर इङ्नामले गाउँमै घर बनाए। उनी थप्छन्, ‘जिल्लाभर यस्तै देख्न पाउनु हुन्छ।’ पाँचथरको चिवा भन्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने १ हजार ८ सय ७९ किमि सडकखण्डमा पर्ने पहाडका ग्रामीण क्षेत्रमा चहलपहल बढेको देखिन्छ। यसअघि नै सडक बनेका भन्दा पनि लोकमार्गले नयाँ ट्याक बनाएका क्षेत्रमा चहलपल बनेको हो। गफिने चोक, चियापसल ठाउँठाउँमा भेटिन्छन्। पाँचथरको च्याङ्थापु, आयोम, थर्पु र माझिटारमा सहरीकरण बेढेको देखिन्छ। तेह्रथुमको चुवान डाँडामा नयाँ बजार बनेको छ। सङ्क्रान्तिको पुरानो बजारको काया बद्लिएको छ। पञ्चमी, हलिबजार, लसुने, जिरिखिम्ती, वसन्तपुरजस्ता बजारमा सुविधा थपेको देखिन्छ।
नागरिक दैनिकबाट




प्रतिक्रिया