Logo

आइजीपी बन्न एआइजी पुष्कर कार्कीको अन्तिम प्रयास



काठमाडौं, २१ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित दुई दर्जन उच्च अधिकारीले आगामी साता एकैपटक अवकाश पाउँदैछन् । जब प्रहरी नेतृत्व परिवर्तनको बेला हुन्छ, प्रहरीभित्र अनेक रमाइला घटना देख्न पाइन्छ । यो पटक पनि त्यस्तै भइरहेको छ । उच्च अधिकारीहरु आ–आफ्नै दाउमा छन् ।

महानिरीक्षक खनाल सकेसम्म आफ्नो कार्यकाल लम्ब्याउने प्रयासमा छन् । तर, उनी त्यति आशावादी छैनन् । किनकि उनलाई आइजीपी बनाउन भूमिका खेल्ने प्रचण्ड र उनी निकट समूहसँग खनालको यतिबेला दूरी बढेको छ । चितवन काण्डका कारण प्रचण्ड र खनालको दूरी बढेको हो । खनालले प्रचण्ड तथा गृहमन्त्री रामहादुर थापा ‘बादल’ सँग छलफल नै नगरी एसपी गंगा पन्तलाई चितवन सरुवा गरेका थिए । यही घटनाले प्रचण्ड परिवार खनालसँग रिसाएका छन् । प्रचण्ड परिवारकै कारण एसपी पन्त चितवन जान पाएकी छैनन् । यही टक्करले १ महिनादेखि चितवन निमित्तको भरमा चलेको छ ।

त्यस्तै एआईजी पुष्कर कार्की पनि आईजीपी बन्ने अन्तिम प्रयासमा छन् । खनाललाई अवकाश दिएर प्रहरी नियमावली संशोधन गरेर आईजीपी हुने उनको प्रयास छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि नै उनलाई आईजीपी बनाउने प्रयास गरेका थिए । तर, प्रचण्डको असहमतिले रोकिएको थियो । यसपटक प्रधानमन्त्री निकट व्यक्तिहरुले कार्कीलाई आश्वासन दिएका छन् । यसपछिका आईजीपीका दाबेदार रहेकाहरु राजनीतिक लबिङका दृष्टिकोणले कमजोर भएकाले पनि यस्ता चलखेल बढेको हो ।

यसपछिका मुख्य दाबेदार रहेका ठाकुर ज्ञवाली चलखेलमा लागेका छैनन् । उनले केही सीमित नेतालाई मात्र भेटेका छन् । उनले आर्थिक सहयोग गर्ने आश्वासन बाँडेका छैनन् । प्रहरीमा हरेक वर्ष एक अर्बको खरिद हुने र त्यसमा करिब १० प्रतिशत कमिसन आउने भएकाले कतिपयले त्यही पैसाबाट चलखेल गर्दछन् । अब ज्ञवाली आईजीपी भए पाँच महिनालाई मात्र हुनेछन् । उनीसँगै प्रतिस्पर्धामा रहेका तारिणी लम्साल पनि अस्वस्थ्य प्रतिस्पर्धामा लागेका छैनन् ।

उता आईजीपीसँगै अन्य पदको बढुवामा पनि दौडधुप सुरु भइसकेको छ । डिआईजीको पद रिक्त भएको एक महिना भइसकेको छ । जसमा बढुवाका लागि धिरजप्रताप सिंहको नाम सिफारिस हुने तय भएको थियो । तर, बढुवा समितिको बैठक नै बस्न नसक्दा बढुवा अन्योल हुँदा समग्र बढुवा प्रक्रिया रोकिएको छ । अब तल्लो तहको बढुवा पनि नयाँ आईजीपी नियुक्त भएपछि मात्र अघि बढ्ने सम्भावना देखिएको छ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्