Logo

‘क्यान्सरबाट बच्न नियमित स्वास्थ्य जाँच गरौं’



मधु धमला क्षेत्री, स्वास्थ्यकर्मी (धादिङ) :  आज फेब्रुअरी ४ तारिख । विश्व क्यान्सर दिवस । आज विश्वभरि यो दिवस विविध कार्यक्रम गरि मनाईएको छ । यो वर्षको विश्व क्यान्सर दिवसमा विश्व स्वास्थ्य संगठनले ‘आई.एम एण्ड आई. विल’, ‘म हुँ र म गर्नेछु’ भन्ने मुख्य नारालाई अघि सारिएको छ । समयमा नै क्यान्सरका विरामीको उपचार भए पूर्ण रुपमा ठीक हुन्छ । तर, क्यान्सरका विरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् । रोग लागेपछि धेरै ढिलो अस्पाल पुग्ने गरेकाले ती विरामीको रोग उपचारबाट ठीक हुँदैन् । यस्तो अवस्थाले विरामीको ज्यानपनि जाने र धनपनि सकिने गरेको छ ।

क्यान्सर लाग्ने मुख्य कारण थाहा नभएपनि धुम्रपान, मद्यपान, बोसोयुक्त मासु, सेकुवा खाने मोटो मान्छे र वंशाणुगत रुपमा देखिएको पाईन्छ । एच.पि.भी. भाईरस र एच.पाईलोरी ब्याक्टेरिया र रेडियसन उत्पन्न हुने ठाउँ पनि क्यान्सरका कारक तत्व हुन् । जसरी अहिले कोरोना भाईरस फैलिएर आतंक मच्चिएको छ । त्यो भन्दा धेरै गुणा बढी क्यान्सरको खतरा छ । फरक यतिमात्रै हो की सर्ने रोगले तत्काल असर देखाउँछ तर नसर्ने रोगले विस्तारै विश्वमा करिब वर्षेनी ८० लाख मानिसको मृत्यु हुन्छ भनि विभिन्न तथ्यांकले बताउँछ ।

नेपालमा पनि लगभग ६२ हजार क्यान्सर रोगी भएको अनुमान छ । जसमध्ये ८५ प्रतिशत अन्तिम अवस्थामा मात्रै अस्पताल आईपुग्छन् । जुन बेला उपचारको लागि धेरै ढिला भैसकेको हुन्छ । क्यान्सरका लक्षणहरुमध्ये स्तनमा गाँठागुँठी आउनु, कोठीमा परिवर्तन आउनु, कुनैपनि घाउ लामोसमयसम्म ठीक हुनु र एक्कासी वजन घट्नु मुख्य हुन् । जसमध्ये धेरै देखिने क्यान्सर भनेको महिलाको पाठेघरको मुख र डिम्बासयको क्यान्सर हुन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार धुम्रपानको कारणले क्यान्सर लागेर ज्यान गुमाउनेको संख्या २२ प्रतिशत रहेको छ । जसरी सरुवा रोगको बारेमा आम मानिसहरु सजग छन्, त्यसैगरि नसर्ने रोगका बारेमा मानिसहरु सचेत भएको देखिँदैन् । क्यान्सरलगायत नसर्ने रोगहरुका बारेमा नेपाल सरकारबाट नै स्वर्णीम कार्यक्रम आउन जरुरी छ । जसले गाउँ गाउँ, बस्ती बस्तीमा क्यान्सरसम्बन्धी स्वास्थ्य शिक्षाको प्रर्वद्धन गरोस् ।

र, क्यान्सर रोगबाट बच्नको लागि प्रत्येक व्यक्ति आफैं सजग हुन जरुरी छ । क्यान्सर लाग्ने कारक तत्वबाट टाढै बस्दा राम्रो हुन्छ । तबमात्र क्यान्सरको मृत्युदर र विरामी दर घटाउन सकिन्छ । हामीले आफूले सवारीको रुपमा प्रयोग गर्ने साधनहरु जस्तो मोटरसाईकल, गाडीलाई जसरी नियमित सर्भिसिङ गर्छौं ।

त्यसैगरि हाम्रो शरिरलाई बेला बेलामा चेकजाँच गरिरहनुपर्छ । पछिल्लो समय आम मानिसमा आफ्नो स्वास्थ्यप्रतिको संवेदनशीलता र गम्भिरता त्यति नभएको हो कि भन्ने देखाउँछ । जुन गलत हो । हामीले आफ्नो शरिरको ख्याल गर्न र रोग लाग्न नदिनबाट पनि नियमित स्वास्थ्य–जाँच आवश्यक छ । बास्तवमा ‘रोग लाग्नुभन्दा रोग लाग्न नदिनु’ नै उत्तम हुन्छ । यो कुरालाई सबैले मनन गर्न जरुरी छ । आफ्नो स्वास्थ्यप्रति गम्भिर बनौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot