Logo

भद्रपुर विमानस्थलमा यतिको जहाज ठूलो दुर्घटनाबाट जोगियो



घट्ना गोप्य राखिएकोमा खड्काको असन्तुष्टि
काठमाडौं, २१ माघ । यति एयरलाईन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको खुलासा भएको छ । तर, यो कुरा एयरलाईन्सले अहिलेसम्म बाहिर ल्याएको छैन् । गत आइतबार झापाको भद्रपुरबाट काठमाडौं आउन लागेको जहाज दुर्घटना हुनबाट जोगिएको कुरा नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री दिपक खड्काले जानकारी दिएका छन् ।

उनकाअनुसार आईतबार अपरान्ह साँढे १२ बजे भद्रपुरबाट काठमाडौं आउन लाग्दा यतिको ७२ सिटे जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको हो । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘जहाजमा पूर्ण क्षमता अनुसार ७२ जना यात्रु सवार थियौं । जहाज उड्नको लागि तयारी गर्दा एक्कासी रनवेमा ब्रेक लाग्यो । एकछिन राखेर उडाउन खोजियो, फेरि पनि ब्रेक लगाईयो, पछि बुझ्दा थाहा भयो कि जहाजको तेल लिक भएको रैछ । यदि त्यो जहाज उडाईएको भए आगो लाग्दथ्यो । हामी जहाजमा सवार कोही पनि जिवित हुँदैनथियौं ।’

उनले यस्तो समस्या भएको थाहा हुँदाहुँदैपनि जहाजलाई उड्न किन अनुमति दिईयो ? भन्दै प्रश्न गरेका छन् । उनकाअनुसार उक्त जहाज अहिलेपनि ग्राउण्डेड छ । उनले यस्तो गम्भिर लापरवाही हुँदापनि जहाज कम्पनीले यो कुरा बाहिर नल्याएकोमा गम्भिर असन्तुष्टि पोखेका छन् ।

जहाजमा तेल लिक भएको कुरा विमान चालक (पाईलट) ले थाहा पाउनेबित्तिकै जहाज रोकेको खड्काले सुनाए । यसबारेमा बुझ्न खोज्दा भद्रपुर विमास्थलको ०२३–४५६८०१ नम्बरको फोन उठेन् ।



प्रतिक्रिया दिनुहोस्