Logo

मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो



काठमाडौँ, २३ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो ।

मच्छिन्द्रले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ४०औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए । रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए । त्यसैगरी खेलको ५४औँ मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । उनले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मच्छिन्द्रका अर्का खेलाडी विशाल राई (ए) ले गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल गरेका थिए ।

त्यसपछि खेलको ७७औँ मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मच्छिन्द्रले दुई गोल थप्पो । मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे । त्यस्तै खेलको ८७औँ मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क छ ।



प्रतिक्रिया दिनुहोस्