Logo

मुस्ताङमा पुनः हिमपात



मुस्ताङ, माघ २४ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी गराए । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए।

जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका बिहीबार बेलुका केही मात्रामा मात्र हिउँ परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं १ का अध्यक्ष टसीढिन्डु ठकुरीको भनाई रहेको छ।

बिहीबाररातभर हिँउ परेपनि आज बिहान मौसम खुला भएको छ । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खुवाएर राखिएको छ ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो । रासस



प्रतिक्रिया दिनुहोस्