Logo

निगमभित्र राजनीति गर्न खोज्ने पाईलट दाजुभाई एक्लिए, व्यवस्थापक भन्छ : माग राख्ने समय नै गलत



काठमाडौं, २४ माघ । नेपाल वायुसेवा निगमभित्र राजनीति गर्न खोज्ने पाईलटहरु अहिले एक्लिएको खुलासा भएको छ । केही दिनअघिमात्रै उनीहरुले तलब बढाउनुपर्ने नाममा व्यवस्थापनसँग सामूहिक राजीनामा दिने घुर्की लगाएका थिए । यसको नेतृत्व पाईलट श्रवण रिजालले गरेका थिए । तर, उनले व्यक्तिगत स्वार्थ बोकेर संस्थालाई नै डुबाउन खोजेको चाल पाएपछि अन्य पाईलटहरुले राजीनामा फिर्ता लिएको निगमभित्रकै कर्मचारीले जानकारी दिएका छन् ।

निगमभित्र राजनीति भित्र्याउन खोज्नेमा श्रवणसँगै उनका सहोदर दाजु सुवास रिजाल पनि हुन् । उनीहरु दुवै निगममा पाईलटको रुपमा कार्यरत छन् । एक कर्मचारीले नाम नबताउने शर्तमा भने,‘हिजो राजीनामा दिन खोज्ने साथीहरु अहिले राजीनामा फिर्ता गरेर काममा सक्रियतापूर्वक लाग्नुभएको छ । यो संस्थाको लागि पनि खुशीको कुरा हो । तर, उहाँहरुलाई बोकेर राजनीति गर्न खोज्ने साथीहरु अहिले एक्लिएका छन् ।’

निगमभित्र बसेर राजनीति गर्न खोज्नेहरुलाई सरकारले पनि विशेष निगरानी गर्नुपर्ने कतिपय कर्मचारीहरुले आवाज उठाएका छन् । विभागीय मन्त्री तथा सचिवले पनि निगमभित्र भैरहेको पछिल्ला सन्देहपूर्ण गतिविधिलाई विशेष ध्यान दिन जरूरी रहेको ती कर्मचारीहरुको सुझाव छ ।

निगमका अपरेशन विभाग प्रमुख दिपु जुहारचनले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा भने,‘दश जना पाईलटले व्यक्तिगत रुपमा निवेदन दिएरै हाम्रो त्यसमा कुनै राजीनामाको कुरा थिएन भनेर हामी संलग्न छैनौं भन्नुभएको छ ।’ उनले पाईलटहरुले निगम व्यवस्थापनसँग दुई वटा माग राखेर ज्ञापनपत्र बुझाएको सुनाउँदै त्यसलाई मिडियामा राजीनामा दिईएको भनेर चर्चामा आएकोमा गुनासो पोखे ।

उनले भने,‘सर्वप्रथम त उहाँहरुले व्यवस्थापनसँग ज्ञापनपत्र बुझाउनुभएको थियो, उहाँहरुले दुईवटा माग राख्नुभएको थियो । पत्रपत्रिकामा जसरी राजीनामा भनेर प्रस्तुभ हुने काम भयो त्यो गलत हो ।’

आफूले यो बीचमा विभागीय मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराई र पर्यटन सचिवलाई भेटेको पनि सुनाए । ‘अन्य विषयमा कुरा हुँदा यो विषयमा पनि उहाँहरुसँग कुरा भएको थियो ।’

उनले निगमका सबै कर्मचारीहरुले ऐन तथा कानूनलाई फलो गर्नुपर्ने धारणा राखे । उनले भने,‘पाईलटहरुले राख्नुभएको मागका बारेमा हामी गम्भिर छौं , तर, जुन समयमा उहाँहरुले माग राख्नुभयो यो समय उपयुक्त समय होइन् । अहिले निगमको कार्यकारी अध्यक्ष नभएको अवस्था छ । आयकर ऐनविरुद्ध निगमले पाईलटहरुको कर तिर्न मिल्दैन् । अहिले पनि हामीसँग पाँज जना पाईलट करारमा हुनुहुन्छ । उहाँहरु स्थायीको सेवा सुविधा काम गरिरहनुभएको छ । उहाँहरुको मागबारे व्यवस्थापनले आँखा चिम्लेर बसेको छैन् ।’

उनले पाईलटहरुको तलब बढाउने मागबारे समाधान खोज्ने हो भने पनि समिति बनाउनुपर्ने बताए । ‘उहाँहरुको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्छ, तर यसको लागि न्यूनतम पनि तीन महिना समय लाग्छ ।’ उनले अहिले त धेरै पाईलटहरु मत्थर भैसकेको पनि स्पष्ट पारे । आफूहरु निगमको नेतृत्वको पखाईमा रहेको पनि उनले सुनाए ।

निगमले वाईडबडी खरिद गर्दा पाईलट सुवास रिजाल त्यतिवेला अपरेशन विभागका प्रमुख थिए । रिजाल उक्त जिम्मेवारीमा हुँदापनि उनीमाथि पाईलटहरुबीच गुटबन्दी गरेर संस्थालाई उद्योगतितर्फ डोर्याएको आरोप लागेको थियो । र, उनका भाई श्रवण रिजाल तत्कालिन् महाप्रबन्धक सुगतरत्न कंशकारका सल्लाहकार थिए ।



प्रतिक्रिया दिनुहोस्