Logo

न्यारो बडी खरिदमा पनि यसरी भयो अनियमितता



काठमाडौं, २४ माघ । नेपाल वायुसेवा निगमले दुई थान वाइड बडी विमान खरिद प्रकरणमा चार अर्बभन्दा बढी भ्रष्टाचार भएको मुद्दाले सरकारलाई नै अप्ठेरोमा पारिरहेकै बेला निगमले नै यसअघि किनेका दुईवटा न्यारो बडी जहाजमा चार करोडको घुस प्रकरण सार्वजनिक भएको छ । गत माघ १७ गते निगमले किनेका दुईवटा न्यारो बडी एयर बस खरिदमा उत्पादक कम्पनी एयर बसका तर्फबाट निगमका पदाधिकारीलाई घुस खुवाइएको भन्दै लण्डनमा सार्वजनिक गरेको कागजातमा विक्रम सम्वत् २०७० माघ १८ गते देखि २०७२ वैशाख १७ गतेबीच तीन लाख ४० हजार युरो नेपालका एकदुई व्यापारीलाई भुक्तानी गरेको उल्लेख गरिएको छ ।

निगमले सन २०१५ मा किनेका युरोपेली विमान उत्पादक कम्पनी एयर बससँग दुई थान न्यारो बडी जहाज किनेको थियो । यही प्रकरणमा जहाज निर्माता कम्पनी एयर बसले निगमका अधिकारीलाई घुस खुवाएको तथ्य फ्रान्स र बेलायतका भ्रष्टाचारविरोधी निकायले संयुक्त रूपमा गरेको अनुसन्धानले खुलाएको छ ।

बेलायत र फ्रान्समा भ्रष्टाचारविरुद्ध काम गर्दै आएका संस्थाले संयुक्त रूपमा गरेको अनुसन्धानपछि सार्वजनिक गरेको प्रतिवेदनमा एयर बसले नेपालमा जहाज बेच्नका लागि सन २०१४ र २०१५ गरी दुईपटकमा तीन लाख ४० हजार युरो पठाएको उल्लेख गरिएको छ । वाइड बडी जहाज खरिद निर्णय गर्दाताका निगममा महाप्रबन्धकका रूपमा केही समयअघि मात्रै निगमको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएर हाल अष्टे«लिया पुग्नुभएका मदन खरेल कार्यरत हुनुहुन्थ्यो ।

अनुसन्धाताहरुले अनुसन्धानको क्रममा निगमका अधिकारीसँग पनि बयान लिइएको प्रतिवेदनमा उल्लेख गरेका छन् । एयर बसले नेपालमा जहाज बेच्न सन २००७ देखि नै एकजना व्यापारीलाई एजेन्ट नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ । एजेन्ट बनेका ती व्यापारीले निगमसँग सेटलमेन्ट मिलाउने काम गरेको बताइन्छ । त्यसपछि सन २००९ मा एयर बसबाट निगमले एउटा एयर बस ए–३२० र एउटा ए–३३० जहाज किन्नेगरी एमओयू भएको थियो । तर पछि सन २०११ मा खरिद सम्झौता भने दुवै जहाज ए–३२० किन्ने सम्झौता भयो । खरिद सम्झौता हुनुअघिसम्म विभिन्न चरणमा निगमका कार्यकारी तहबाट पत्राचार भएको र सेटलमेन्टका लागि निकै प्रयास भएको बताइन्छ ।

एयर बसका दुई न्यारो बडी जहाज सन २०१५ मा नेपाल आइपुगेका थिए । प्रतिवेदनमा उल्लेख गरेअनुसार एयर बसले सोझै निगमलाई घुसबापतको रकम भने उपलब्ध गराएको हैन । उसले भारतीय उपमहाद्वीपमा काम गर्न भन्दै एउटा कम्पनीसँग सम्झौता गरेको थियो । निगमसँगको जहाज खरिद प्रक्रिया सफल पार्नका लागि १८ लाख अमेरिकी डलर दिने प्रतिबद्धता निर्माता कम्पनीका तर्फबाट जनाइएको समेत प्रतिवेदनमा उल्लेख छ ।

निगमले किनेका यी दुई विमानको खरिद प्रक्रिया भने वि.सं. २०६५ चैत २५ गतेबाट थालिएको थियो । तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारको कार्यकालमै निगमले छवटा विमान किन्नका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । तर लगत्तै उक्त खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा हात हाल्दै कंसाकारविरुद्ध २०६७ पुस ९ गते विशेष अदालतमा मुद्दा दायर गर्नासाथ कंसाकार निलम्बनमा परेका थिए । उनको स्थानमा खरेल महाप्रबन्धक भएका गिथए । यसपछि विमान खरिदमा चलखेल थालिएको समाचारस्रोतको दावी छ ।

विमान खरिद सम्बन्धमा अख्तियारले चलाएको यस मुद्दामा २०६९ वैशाख १२ गते सर्वोच्च अदालतबाट खरिद प्रक्रियामा कुनै अनियमितता नभएको भनी फैसला आउनासाथ निगमका तत्कालीन हाकिमले विमान खरिदसम्बन्धी ‘डिल’ अघि बढाएका थिए । समाचारस्रोतका अनुसार सर्वोच्चबाट फैसला आउनुअघि नै दुईवटा न्यारो बडी ए ३२० विमान किन्न भनेर निगमका पदाधिकारीले २०६९ माघबाटै एयर बस कम्पनीसँग वार्तालाप थालेका थिए । स्रोतका अनुसार यो जहाज खरिद प्रकरणको अनुसन्धानमा सक्रिय फ्रान्सको वित्तीय अभियोजनको कार्यालयले सार्वजनिक गरेको निगम र एयर बस उत्पादक कम्पनीका प्रतिनिधिबीचको सम्झौतापत्रमा १८ लाख युरो अर्थात् झण्डै २० करोड रुपैयाँ कमिशन बापत निगमका पदाधिकारीलाई बुझाउने प्रतिबद्धता व्यक्त गरिएको र सोअनुसार नै रकम पटक-पटक विमान खरिदमा संलग्न नेपाली पक्षलाई भुक्तानी गरिएको उल्लेख छ । अनुसन्धानमा संलग्न संस्थाले जनाएअनुसार यो रकम २०७० माघ (फेब्रुअरी २०१४) देखि २०७१ चैत (अप्रिल २०१५) सम्म किस्ताबन्दीमा भुक्तानी भएको थियो । निगमले किनेका यी जहाजमध्ये पहिलो न्यारो बडी २०७१ माघ र दोस्रो २०७२ वैशाख १८ काठमाडौं आइपुगेका थिए ।-विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्