Logo

आइसीसी विश्वकप लिग दुई : अमेरिका विरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै



काठमाडौँ, २५ माघ : आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल अमेरिकाविरुद्धको खेलमा अहिले ब्याटिङ गरिरहेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा उत्रेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किनुभयो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुनुभयो । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किएका छन् । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट भए । खेलको २१औँ ओभरमा आरिफ शेख दुई बनाएर पभेलियन फर्किए । अहिले कुशल मल्ल र विनोदसिंह भण्डारी ब्याटिङ गरिरहेका छन् । नेपालले २१ ओभरमा पाँच विकेट गुमाएर ४९ रन बनाएको छ ।

विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको खेलमा शरद घाइते भएपछि सुवास झण्डै डेढ वर्षपछि नेपाली टोलीमा फर्किएका हुन् । प्रारम्भिक ब्याटस्म्यानका रुपमा कप्तान ज्ञानेन्द्र मल्लसित खेल्न आएका सुवासले दर्शकलाई निराश पारे । ओमानसँगको खेलमा चोट बोकेका शरदलाई चिकित्सकले १० दिन आराम गर्न सल्लाह दिएका छन् । चोटका कारण शरदले आजको खेलसँगै बाँकी दुई खेल पनि गुमाउने निश्चत भएको छ ।

सिरिजको पहिलो खेलमा ओमानविरुद्ध शरदले ५५ रन बनाएका थिए । ओमानविरुद्धको खेलमा पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङ आरम्भ गर्न मैदानमा आएका थिए । दुवै खेलाडी सफल भने हुन सकेनन । सो खेलमा पारसले १४ बल खेल्दै तीन रन तथा ज्ञानेन्द्रले १२ बल खेलेर एक रन मात्र बनाउनुभएको थियो । त्यसैको फलस्वरुप नेपाल ओमानसँग १८ रनले हार्न पुगेको थियो ।

ओमानले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाउँदै १७९ रन मात्र बनाएको थियो । सुवासले सन् २०१२ को मलेसियामा भएको डिभिजन चारमा अमेरिकाविरुद्ध ११५ रनको शतकीय पारी खेलेका हुन् । अभ्यास खेलमा सुवासले अमेरिकाविरुद्ध मूलपानी क्रिकेट मैदानमा अविजित ५२ रन बनाएका थिए । उनले हालसम्म अमेरिकाविरुद्ध पाँच खेलमा २३८ रन बनाएका छन्. । उनले गत वर्ष सेप्टेम्बरमा मलेसियामा भएको एशिया कप क्वालिफायारमा हङकङसँग अन्तिम खेल खेलेका थिए। हालै सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति क्रिकेटमा उहाँले प्रदेश नं १ विरुद्ध वाग्मती प्रदेशबाट खेल्दै अविजित ८५ रन बनाएका थिए।

सन् २०११ देखि २०१६ सम्म लगातार टोलीमा अटाउनुभएका सुवास त्यसयता चोटका कारण खेल्नबाट वञ्चित हुनुपरेको थियो । उनी उमेर समूहको क्रिकेट खेल्दै सिनियर टोलीमा छानिनुभएको हो । सन् २०११ मा भएको एसीसी टि–२० इलाइट कपमा उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् ।

अमेरिका सन् २०१० पछि नेपाल आएको हो । अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रुपमा लिएका छन् । ‘‘नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्’’, सिरिज शुरु हुनुअघि उनले पत्रकार सम्मेलनमा भनेका थिए । विसं २०७४ चैत १ गते एकदिवसीय मान्यता पाएको नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेलिरहेको छ ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले हार्दै तालिकामा अङ्कविहीन अवस्थामा छ । डिभिजन दुईमा हालसम्म अमेरिकाले नौ खेल खेलिसकेको छ । ओमानसित अमेरिका छ विकेटले पराजित भए पनि १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

तीनवटै टोलीले यो सिरिजमा चार चार खेल खेल्नेछन् । माघ २९ गतेसम्म चल्ने सो सिरिजअन्तर्गत नेपालले तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ । यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । अमेरिकासितको खेलमा नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, सुशन भारी, सुवास खकुरेल र कुशल मल्ल खेलिरहेका छन् ।

रोहितकुमार पौडेलको ठाउँमा आज कुशललाई स्थान दिइएको हो । सन् २०१७ पछि नेपालले पहिलो पटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो ।

आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।

लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।रासस



प्रतिक्रिया दिनुहोस्