Logo

बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति : मन्त्री भट्टराई



भीमदत्तनगर, २५ माघ  : संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताएका छन् ।

भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिए ।

मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिए । “तीनवटै तहको सरकारले साझदारी गरेर विमानस्थल पुनःनिर्माण गरी सञ्चालमा ल्याऔँ”, उनले भने, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ ।”

उनले विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताए । मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने भन्दै समयक्रमअनुसार विमानस्थल अन्तरराष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने पनि बताए । “विमानस्थलसित ६० बिघा जग्गा रहेछ”,उनले भने, “आवश्यक जमिन थप गर्ने प्रक्रिया अगाडि बढाउने छौँ ।” पश्चिमका लागि मझगाउँ विमानस्थल महत्वपूर्ण रहेको भन्दै उनले पुनः सञ्चालनका लागि यहाँका जनप्रतिनिधिहरु उत्सुक्ताका साथ सक्रिय रहेको जानकारी दिए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै सुदूरपश्चिम भ्रमणका लागि आउने विदेशी पर्यटकको हवाई भाडा घटाउनुपर्ने माग गरे । “डेढ लाख जनसङ्ख्या भएको ठाउँमा विमानस्थल सञ्चालन हुन्छ, यहाँ त झन छ लाख जनसङ्ख्या छ”, उनले भने, “स्थानीय तह र प्रदेश सरकार पनि पुनःसञ्चालनका लागि सकारात्मक रुपमा लागेका छन ।”

प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले पटक-पटक मझगाउँ विमानस्थल सञ्चालनका निम्ति आफूले संसद्मा कुरा उठाएको बताए । “संसारकै ठूलो झुण्डो भएको बाह्रसिङ्गादेखि एशियाकै लामो झोलुङ्गे पुलसम्म हामीसित छन्”, उनले भने, “यहाँ आउने विदेशी पर्यटकलाई महङ्गो भाडा लगाएर सुदूरपश्चिम भ्रमणमा आउन किन रोकेको ? ।”

नागरिक उड्डन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भीमदत्तनगर नाका महत्वपूर्ण रहेको भन्दै मझगाउँ विमानस्थल सञ्चालनका लागि दुई बिघा जमिन थप गर्नुपर्ने आवश्यकता रहेको बताए ।

“विसं २०३० मा मझगाउँ विमानस्थल सञ्चालनमा आएको थियो”, उनले भने, “भीमदत्तनगरलाई काठमाडौँसित जोड्ने रणनीतिक महत्व छ ।” जग्गा अधिग्रहणका लागि तीनवटै सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । विसं २०५६ मा असुरक्षाका कारण देखाउँदै उक्त विमानस्थल बन्द भएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्