Logo

इन्स्टाविरोधी सेलेना



काठमाडौँ, २६ माघ । अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजले केही समयको तनावलाई विश्राम दिँदै भर्खरै मात्र नयाँ एल्बम ‘रेअर’ बजारमा ल्याइन् । उक्त एल्बमको एक गीत ‘लस यु टु लभ मी’ ले त बिलबोर्ड चार्टमा तहल्का नै मच्चाइदियो । गायक जस्टिन बिबरसँगको लामो समयदेखिको प्रेमसम्बन्ध तोडिएपछि विक्षिप्त बनेकी सेलेनाले उक्त गीत बिबरका लागि नै जवाफ दिएर निकालिन् ।

गीतको सफलताले राहतको महसुस गरिरहेकी सेलेनाले हालै आफ्ना फ्यानहरूका केही सवालको जवाफ दिने कार्यक्रममा सहभागी जनाएकी छन् । जहाँ उनले पछिल्लो समय युवा पुस्तामाझ चर्चित बनिरहेको सामाजिक सञ्जाल इन्स्टाग्रामको खुलेर विरोध गरेकी हुन् । ‘अहिलेको युवा पुस्तामाझ इन्स्टाग्राम विशालु बनिरहेको छ,’ सेलेनाले डेज्ड म्यागाजिनले आयोजना गरेको सवाल जवाफको कार्यक्रममा बोल्ने क्रममा यसो भनेकी थिइन् । उनको प्रतिक्रियापछि एक फोटोग्राफरले सोधिहाले, ‘यदि यसो हो भने के तपार्इंचाहिँ इन्स्टाग्रामबाट छुटकारा पाउन चाहनुहुन्छ रु’ जब कि सेलेना इन्स्टा क्विन पनि हुन् । १ सय ६७ मिलियनभन्दा बढी फलोअर्स बनाइसकेकी सेलेना विश्वकै सर्वाधिक फलोअर कमाउने व्यक्तिमा पर्छिन् । पहिलो नम्बरमा गायिका एरिआना ग्रान्डे छिन् ।

प्रश्न तेर्सिनेबित्तिकै सेलेनाले छुटकारा पाउन चाहेको भन्दै हाँसिन् र भनिन्, ‘हे भगवान्, फेरि मैले छुटकारा पाउन खोजिरहेको बताएँ भने त मलाई मन नपराउने थुप्रै होलान् । त्यसैले सन्तुलित जवाफ दिने हो भने खुसीयाली बाँड्ने प्लेटफर्मका रूपमा यो यति ठिक छ । तर यदि मैले यसले मेरो पुस्ताका कतिपयको परिचय नै ध्वस्त पारिरहेको छ भनिनँ भने म झूट ठहरिनेछु ।’ सेलेनाले घुमाउरो पारामा इन्स्टाग्रामले युवा पुस्तालाई बिगारिरहेको जिकिर गरिन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्