Logo

गच्छदारलाई जोगाउनेवारे कांग्रेसभित्र मत विभाजित, शशांक-गगनको फरक मत



काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला भ्रष्टाचार काण्डमा मुछिएका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई जोगाउने कि नजोगाउने भन्नेबारे मत विभाजित बनेको छ । ललितानिवास जग्गा हिनामिना प्रकरणमा गच्छदारलाई दोषी ठहर गरेर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले उनीसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गत बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि काठमाडौंको राजनीतिक माहोल तातेको छ ।

कतिसम्म भने कांग्रसले त यो प्रकरणमा अख्तियारले सरकारको निर्देशनमा आफ्ना नेतालाई सुनियोजित रुपमा फसाउने षड्यन्त्रस्वरुप यो कदम चालेको आरोप लगाउन थालेको छ । उसले लगातार तीन दिनदेखि संसद बैठकसमेत अवरुद्ध गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले हिजोमात्रै यो प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले गच्छदारमाथिको भ्रष्टाचार मुद्दा सुनियोजित भएको टिप्पणी गरेका छन् । रामेछापमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले पार्टी उपसभापति गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाएका थिए । देउवाले अरु सबै उम्कने तर एकजना माथि मात्रै भ्रष्टचारको मुद्दा चलाउँनु सरकारको गलत नियत भएको बताएका थिए ।
देउवाले जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको मात्रै काम नगर्न अख्तियारका कर्मचारीलाई चेतावनी समेत दिएका छन् । उनले पार्टीका उपानेता गच्छेदार माथि सड्यन्त्रपुर्ण र अन्यान्यपुर्ण तरवले चलाइएको मुद्दा तत्काल फिर्ता लिन केप ओली नेतृत्वको सरकारलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र सरकारी जग्गाको लालपुर्जा बोक्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारमाथि मात्रै मुद्दा लगाउँनु कांग्रेसका लागि मान्य नहुने बताउँदै आएका छन् ।

तत्कालिन् प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रीमण्डले नितिगत निर्णय गर्ने र नेकपा महासचिव पौडेलको सिरानीमुनी छोराको नाममा सरकारी जग्गाको लापुर्जा भेटीने तर भ्रष्टचनर मुद्दा चाहि गच्छदारलाई मात्रै लगाउँनुमा अहिलेको सरकारको नियत गलत भएको उनको भनाई छ ।

कांग्रेसले यो प्रकरणमा सिंगो पार्टी नै परिचालन गरेर गच्छदार बचाउ अभियान सुरु गरेपछि पार्टीभित्र मत विभाजित बनेको छ । कतिपय शीर्ष नेताहरुले त यो तहसम्म उत्रिएर आन्दोलन वा विरोध प्रदर्शन गर्न नहुने तर्क गर्दै आएका छन् । स्रोतकाअनुसार पार्टी महामन्त्री डा. शशांक कोइरालाले पनि गच्छदार जोगाउनको लागि पार्टीले यो तहमा उत्रिएर आन्दोलन गर्न नहुने मत राख्दै आएका छन् ।

महामन्त्री कोइरालासँगै केन्द्रीय सदस्यहरु शेखर कोइराला र गगनकुमार थापा पनि गच्छदारको भ्रष्टाचार काण्डमा आन्दोलन तथा संघर्षमा उत्रिनुपर्छ भन्ने पक्षमा छैनन् । नेता थापाले गच्छदार बोक्दा कांग्रेस समाप्त हुनेसम्मको तर्क गर्दै आएका छन् । उनले यो प्रकरण अदालतलाई छोड्नुपर्ने बताएका छन् ।

नेता थापाले पार्टीले यो बेलामा गच्छदारलाई मात्रै बचाउनको लागि कदम चाल्नुभन्दापनि प्रकरणमा नाम मुछिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव विष्णु पौडेललाई किन उन्मुक्ति दिईयो ? भन्ने कुरालाई मुख्य एजेण्डा बनाउनुपर्ने बताएका छन् । थापाले आफूनिकटसँग भन्ने गरेका छन्,‘यो प्रकरणमा नाम मुछिएका प्रायः सबैलाई कारबाही हुनुपर्छ भनेरमात्रै हामीले भन्नुपर्दथ्यो, यो तहमा उत्रिएर संसद अवरुद्ध गरेकोमा जनतामा हामीप्रति असन्तुष्टि छ । त्यो हदसम्म नपुगेको भए हुन्थ्यो ।’



प्रतिक्रिया दिनुहोस्