Logo

ओमानसँग दोस्रो पटक नमिठो हार, बलर असफल



माघ २६, काठमाण्डौ । पहिला व्याटिङ गरेको नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य दिँदा धेरैलाई लागेको थियो नेपालले जित्छ । तर बलिङमा राम्रो प्रदर्शन नहुँदा गृह मैदानमा दर्शको साथ पाएको नेपाल पराजित भयो । प्रसंग हो विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज । आजको हारसँगै नेपालको आगामी यात्रा कठिन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यससँगै नेपाल ओमानसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । यस अघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रन पराजित भएको थियो ।

ओमानको जितमा अकिब इलासले अविजित रहदै १ सय ९ रनको शतकीय इनिङ्स खेले । उनले १ सय ८ बलमा १२ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान जिशन मक्सुदले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । खवर अलीले ४१ रन जोड्दा जितेन्दर सिंहले २३ रन बनाए । नेपालका सुशन भारी र कुशल मल्लले एकएक विकेट लिए ।

विश्व क्रिकेट जगतकै सफल मानिएका बलर सन्दिप लामिछानेमाथि धेरै भरोसा गरिएको भए पनि उनले यो सिरिजमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पहिलो खेलमा पनि ओमानविरुद्ध विकेट लिन नसकेका सन्दिप आज पनि विकेटविहिन बनेका हुन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । नेपालको यो एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षी टिमलाई दिएको सर्वा्धिक ठूलो लक्ष्य हो ।

नेपालले यस अघि गत वर्ष यूएईविरुद्ध २ सय ४३ रनको लक्ष्य दिएको थियो । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय भने नेपालको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्धको तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दा सर्वाधिक उच्च लक्ष्य बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो । यस्तै पारस खड्काले ३८ रन जोड्दा विनोद भण्डारीले ३५ रन बनाए । आरिफ शेख र कुशल मल्ल समान २८–२८ रनमा आउट भए । ओपनर सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । डेब्यु खेलाडी कमल सिंह ऐरी ९ रनमा अविजित रहे ।

ओमानका अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए । नेपाललाई पराजित गरेसँगै ओमान लिगको शीर्ष स्थानमा उक्लिएको छ । ओमानले ९ खेलमा १४ अंक जोडेको छ । नेपाल ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अब नेपालले सिरिजमा अमेरिकासँग खेल्नेछ । यसअघि शनिवार भएको खेलमा भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । अमेरिका १० खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्