Logo

पौने पाँच सय कर्मचारीको दरबन्दी थप्दै सडक विभाग



काठमाडौं, माघ २७ । सडक विभागले पौने पाँच सय कर्मचारीको दरबन्दी थप गर्ने पहल गरेको छ। लामो समयदेखि कर्मचारी थप नगरिएका कारण प्राविधिक काममा समस्या परेको भन्दै विभागले तत्काल चार सय ७४ कर्मचारी थपगर्ने पहल गरेको हो।

विभागका उपमहानिर्देशक शिवहरि सापकोटाका अनुसार साबिकको दरबन्दी अनुसार कामगर्न र सडकको गुणस्तर कायम गर्न समस्या परेपछि प्राविधिक कर्मचारी थप गर्नुपर्ने अवस्था आइलागेको हो। विभागले कर्मचारी थपगर्न गरेको प्रस्ताव यतिखेर संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ। उक्त मन्त्रालयले विभागको मागअनुसार दरबन्दी थप गरिदिने विभागका अधिकारीहरूले अपेक्षा गरेका छन्। सापकोटाका अनुसार विभागले सबभन्दा बढी तीन सय १५ सब–इन्जिनियर थप गर्न खोजेको छ। त्यस्तै एक सय ५१ इन्जिनियर र १८ डिभिजनल इन्जिनियर थपगर्न खोजेको उनले जानकारी दिए।

हाल विभागको दरबन्दी दुई हजार ५० छ। त्यस पाँच सय नौ सब–इन्जिनियर, तीन सय ४२ इन्जिनियर र ९३ डिभिजनल इन्जिनियर कार्यरत छन्। लामो समयदेखि विभागका कर्मचारीको दरबन्दी थप नगरिएका कारण यसपटक थप गर्नुपर्ने आवश्यकता देखिएको कर्मचारीको भनाइ छ। देश संघीयतामा गएपनि ठूला सडकको निर्माण गर्नुपर्ने र गुणस्तर काम राख्नुपर्ने दायित्व विभागको भएकाले कर्मचारी थप गर्नुपर्ने सापकोटाको भनाइ छ।

हाल देशभर विभिन्न निकायले निर्माण गरेका सडकको कुल लम्बाइ करिब ७५ हजार किलोमिटर दुरी भएपनि संघको जिम्मा१४ हजार नौ सय १३ किलोमिटर छ। विभागले देशभरका साना, ठूला गरी ८० राजमार्गको रेखदेखको जिम्मा समेत लिएको छ। हाल विभागको नेतृत्वमा भइरहेका काममा मध्यपहाडी, हुलाकी, मदन भण्डारी, उत्तर दक्षिण करिडोर लगायतका हुन्। कतिपय व्यक्ति भने देश संघीयतामा गएसँगै विभागको जिम्मेवारी पनि घटेकाले अहिले नै कर्मचारी थपगर्न आवश्यक नरहेको बताउँछन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्