Logo

ला लिगामा बार्सिलोनाको रियल बेटिसमाथि ३–२ को जीत



स्पेन, २७ माघ । बार्सिलोनाले स्पेनिस लिगमा आइतबार संघर्षपुर्ण जित हात पारेको छ । डिफेन्डर क्लेमेन्ट लेङ्गलेट खेलको ७२ औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले रियल बेटिसमाथि ३-२को संघर्षपूर्ण जित हात पारेको हो।

हिजोको खेलमा पहिलो अग्रता रियल बेटिसले लिएको थियो। खेलको छैटौं मिनेटमा सर्जिओ कानालेसले पेनाल्टीबाट गरेको गोलमा उसले अग्रता लिएको थियो। सो अग्रतालाई बार्सिलोनाले खेलको ९ औं मिनेटमा फ्रेन्की डि जोङ्गको गोलमा बराबरी गर्‍यो।

२६ औं मिनेटमा नबिल फकिरले गोल गर्दै रियल बेटिसलाई पुनः अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा सर्जियो बुस्क्वेट्सले पुनः गोल फर्काए र पहिलो हाफको २-२ को बराबरीमा सकियो।

लेङ्गलेटले सो बराबरीलाई ७२ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको पक्षमा पारेका हुन्। उनी खेलको ७९ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाहिर जानुपरेको थियो। त्यसअघि खेलको ७६ औं मिनेटमा रियल बेटिसका फकिर पनि दोहोरो पहेंलो कार्डका कारण मैदान बाहिर पुगेका थिए।

जितपछि बार्सिलोना लिगको दोश्रो स्थानमा रहेको छ। उसले २३ खेलबाट ४९ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ५२ अंक रहेको छ । एजेन्सी 



प्रतिक्रिया दिनुहोस्