Logo

‘जनयुद्ध दिवस’ नजिकिदै गर्दा विप्लवबाट सुरक्षा थ्रेट, सुरक्षा बढाइयो



काठमाडौं, २७ माघ । २ फागुनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘जनयुद्ध दिवस’ मनाउँदैछ । दश वर्ष लामो हिंसात्मक ‘जनयुद्ध’ का क्रममा झण्डै १८ हजारको ज्यान गएको थियो । अहिले ‘जनयुद्ध’को नेतृत्वकर्ता तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष छन् ।

सत्ताको नेतृत्वकर्ता पार्टी नेकपाका अध्यक्ष प्रचण्ड छन् भने विद्रोही नेकपाका नेतृत्वकर्ता विप्लव छन् । विप्लव प्रहरीले खोजी गरिरहेकामा पर्छन् । सँगै ‘जनयुद्ध’ लडेका रामबहादुर थापा बादल गृहमन्त्री छन् जसको मातहतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत छन् ।

विप्लवले २ फागुनमा ‘जनयुद्ध दिवस’ पूर्व हिंसात्मक घटना घटाउनसक्ने भन्दै गृहले सुरक्षा मजबुत बनाएको छ । विप्लवबाट सुरक्षा थ्रेट भएकाहरुलाई सुरक्षा बढाइएको छ । विशेषगरी राजनीतिक दलका नेता, व्यापारिक घरानाका सदस्यहरुको सुरक्षालाई दृष्टिगत गरी विभिन्न स्थानमा निगरानी बढाएको छ । गृह स्रोतका अनुसार प्रमुख दलका नेताहरुको सुरक्षामा विशेष ध्यान दिइएको छ ।

विप्लवले कारबाहीको धम्की दिएकाहरु, आक्रमण गर्न सक्ने सम्भावितहरुको सुरक्षामा बढी ध्यान पुर्याइएको छ । विप्लवले हिंसात्मक गतिविधि गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी शहरका मुख्य चोक र सडकमा समेत सुरक्षा कडा पारिएको छ । सादा पोशाक र औपचारिक पोशाकमा सुरक्षा बढाइएको छ ।-File Photo 



प्रतिक्रिया दिनुहोस्