Logo

ए डिभिजन : सरस्वति घटुवा, मछिन्द्र शीर्ष स्थानमा



माघ २७, काठमाण्डौ । सरस्वती युथ क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलबाट ’बी’ डिभिजनमा घटुवा भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत सोमबार १२ औं चरणको खेलमा च्यासल युथ क्लबसँग दुई एक गोल अन्तरले पराजित हुँदै सरस्वती ’बी’ डिभिजन लिगमा घटुवा भएको हो ।

नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा पराजित भएपछि सरस्वती लिगको एक खेल बाँकी रहदै घटुवा भएको हो । आजै भएको पहिलो खेलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २÷२ गोल गरे । यस्तै टोप बहादुर बिष्टले थप एक गोल गरे ।

फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक÷एक गोल गरे । एपीएफको लिगमा यो दोस्रो जित हो । जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोडेको छ । एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । यता मछिन्द्र फुटबल क्लब भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज साविक उपविजेता संकटा क्लबलाई तिन एक गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई ’बी’ र दिपक राईले एक एक गोल गरे ।

संकटाका मेसोउकेले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानमा उक्लिएको मछिन्द्रले १२ खेलमा २८ अंक जोडको छ । र, मछिन्द्रले उपाधि होड कायम राखेको छ । मछिन्द्रले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पारेको छ । दोस्रो स्थानमा झरेको आर्मीको २६ अंक रहेको छ । तर, आर्मीले एक खेल कम खेलेको छ । मछिन्द्रको जितसँगै लिगको उपाधि होड समेत रोमान्चक मोडतर्फ गएको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्