Logo

कोमामै अवकाश पाउँदै डिआइजी राजेन्द्रमान श्रेष्ठ



रिपोर्टर्स नेपाल, २८ माघ। ३० वर्षे सेवावधि पूरा गरी आजबाट नेपाल प्रहरीका २६ औं आइजीपी सर्वेन्द्र खनालले अवकाश पाउँदैछन् । उनको साथमा एउटै ब्याची तीन एआइजी र १७ डिआइजीले अवकाश पाउँदैछन् त्यसमध्ये एकजना डिआइजी हुन् राजेन्द्रमान श्रेष्ठ । श्रेष्ठ तीन वर्ष यता कोमामा छन् ।

नेपाल प्रहरीका होनाहार अधिकृत राजेन्द्रमानले न त डिआइजीको फूली लगाएको थाहापाए न त अवकाश पाएर फूलीविहिन भएको चाल पाउने अवस्था छ । कुनैबेला आइजीपीका दाबेदारमध्येका उनी कोमामा पुगेपछि प्रतिष्पर्धाबाट बाहिरिएका थिए । एसएसपी वरियता अनुसार मात्र हुँदो हो भने मात्र पनि उनी एआइजीमा पहिलो नम्बरका रहन्थे । तर, त्यो हुन पाएन । कारण थियो ब्याडमिन्टन खेल्दा खेल्दै ढल्नु ।

१५ साउन २०७३ मा ब्याडमिन्ट खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भयो । शरीरको सबै अङ्ग भने चलेको छ । श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए । तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै कोमा अवस्थामा काठमाडौं ल्याइए ।

आइजीपी सर्वेन्द्र खनालका ब्याची श्रेष्ठ एसएसपीमा बढुवा हुँदा रमेश खरेल, सर्वेन्द्र खनाल पछि तेस्रो नम्बरमा थिए । कोमामा पुगेपछि उनको एक नम्बरको डिआइजी बन्ने दौड रोकिएको थियो । खरेल र खनालबीचको दौडमा खनालले बाजी मारे । खरेलले राजीनामा दिएर आइजीपीको दौड छाडे । आइजीपीको दौडमा सर्वेन्द्र खनाल र कुनैबेला चौंथो नम्बरमा रहेका एसएसपी पुष्कर कार्की देखिए । बाजी खनालले नै मारे ।

श्रेष्ठ कोमामा पुगेबाट आइजीपी बन्ने सम्भावनामा पूर्णविरोम लाग्यो । उनी स्वस्थ भएको भए आइजीपी या एआइजी निश्चित रुपमा हुन्थे । कोमामा पुगेपछि उनी केही समय एसएसपी नै रहे ।

श्रेष्ठबारे चासो बढेपछि उनलाई नेपाल सरकारले विशेष पद सृजना गरी ५ भदौ २०७४ मा बढुवा सिफारिश गरिए । उनको बढुवाका लागि वर्तमान आइजीपी खनालले विशेष पहल गरेका थिए । गृह मन्त्रालयले नियमावली संशोधन गरेर भएपनि विशेष परिस्थिति भन्दै मन्त्रिपरिषदले बढुवा गरेको थियो ।

आइजीपी खनालका ब्याची श्रेष्ठ कोमामा हुँदै २९ माघ २०७६ मा सेवानिवृत्त हुँदैछन् । कोमामा रहेकाले उनले डिआइजीमा बढुवा भएको जानकारी पाएनन् । सेवानिवृत्त भएको जानकारी पाउन उनी कोमाबाट उठ्नुपर्ने हुन्छ । त्यसैले श्रेष्ठ कोमामै सेवानिवृत्त हुने देखिदैछ ।

श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । तीन वर्षयता कोमामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ । कोमामा पुग्नु अघि डिआइजी राजेन्द्रमान श्रेष्ठ खेलप्रेमी थिए । नियमित पाँच किलोमिटर दौडन्थे । पाँच किलोमिटर नदौडिई चित्त बुझ्दैन भन्थे । नियमित ब्याडमिन्टन खेल्ने श्रेष्ठको स्थायी घर बाँके हो । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवारम्भ गरेका उनी कहिले विवादमा परेनन् । विदेशमा समेत देशको प्रतिनिधित्व गरेर पुग्दा अब्बल अधिकृतको परिचय बनाए ।–Photo credit: Janta TV and Facebook page of Rajendraman Shrestha



प्रतिक्रिया दिनुहोस्

Screenshot